भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी हाँसे / विजय मल्ल
Kavita Kosh से
प्रिये, त्यो दिन सम्झँदा
तिमी नै यस खोलाको तरंगबाट लहरिँदै आउँछ्यौ।
अहिले चीसो हावाले कानमा सरसराएर भनेको
तिमीले बोलेजस्तो लाग्छ ।
पर्वतको अविच्छिन्न मालालाई हेरेर
विस्मयलाई अँगालेजस्तो हात बाँधेर
भनेकी थियौ - यसको पार पाइन्छ ?
मैले भनेथेँ-पाइन्छ ।
बागमतीको नागबेलीलाई हेरेर
अनिश्चितताले औँला टोकेझैँ
तिमीले त भनेकी थियौ - यसको मूल भेटिएला ?
मैले भनेथेँ --भेटिन्छ ।
पहाडलाई चुम्बन गर्न लागेको गुलाबी बादललाई
संकेत गरी तिमीले भनिथ्यौ - यसलाई समेट्न सकिएला ?
मैले भनेथेँ - सकिन्छ ।
त्यसो भए - मैले भनेथेँ-ब्रम्हाण्ड नै सानो हुनेछ
तिमीले एकफेरामात्र हाँसे।
..................................................
(शारदा, १३।८, मार्ग २००४ )