ती मान्छेहरू / निमेष निखिल
जाडोमा उनीहरू
प्रचण्ड सूर्यको वरिपरि झुम्मिएर राप ताप्छन्
र सेकाउँछन हात, गोडा, ढाड
गर्मीमा उनीहरू
क्षणमै चन्द्रमामा पुगेर सुस्ताउँछन्
शीतल ताप्छन्
र तन्काउँछन् जीउ चिसो हिमाली हावामा
चाहनेबित्तिकै उभिएर सगरमाथा शिरमा
पर क्षितिजसम्म हेर्ने दृष्टि छ उनीहरूसँग
सोच्नासाथ विश्वभ्रमण सकेर
आफ्नै मझेरीमा सुस्ताउन आइपुग्ने
सामर्थ्य छ उनीहरूसँग
अनन्त आकाशलाई पोको पारेर
तारासहितको सिङ्गो आकाश उपहार दिन्छन्
उनीहरू आफ्नी प्रेमिकालाई
आफूले लगाएको लुगासँगै फुकालेर
आफ्नै मन पनि झुन्ड्याउन सक्छन् उनीहरू
भित्ताको काँटीमा
उनीहरूले बुझेका छन्–
मन भनेको तृष्णा पनि हो
लिप्साहरूको राजधानी सहर पनि हो मन
पहाडी खोलाको कलकल भरेर अँजुलीभरि
उनीहरू गीत पिउँछन्
झरनाको सङ्गीत चोरेर पहराबाट
उनीहरू जीवन गुन्गुनाउँछन्
पाखाभरि गुराँसका बोटहरूमा
सपनाका पोकाहरू झुन्ड्याउने तिनै हुन्
तरेली परेका फाँटभरि
जीवनका बाला झुलाउने तिनै हुन्
अँध्यारो च्यातेर हरेक बिहान
सुन्दर सूर्यको थुँगा फुलाउँछन् तिनीहरू
बादलसँग लुकामारी खेलेर
पीडाका साम्राज्य भत्काउँछन् तिनीहरू
दैव नभए पनि मानौँ
दैवी चमत्कार छ तिनीहरूसँग
मान्छेले कहिल्यै नदेखेको ईश्वरसँग
दिनरातको साक्षात्कार छ तिनीहरूसँग
हत्केलामा सिङ्गो हिमाल बोकेर
अथाह समुद्रको सतहमा डेग बढाउँछन् उनीहरू
नीबहरूले शुभ्र कागजीमैदान उधिनेर
सियासियामा जीवन रोप्छन् उनीहरू
मान्छेले रोजेको संसारका
मान्छेले खोजेका मान्छेहरू हुन् ती
अन्धकारको साम्राज्य भत्काएर
उज्यालोको उत्खनन गर्ने रवि हुन्
अरु कोही होइनन् उनीहरू
प्रत्येक प्रहर शब्दमा जीवन उमार्ने कवि हुन्।