भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

दिदी ! किन त्या चन्द्रमा... ? / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


दिदी !
सधैँ त्यो भञ्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू
र त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लाग्छ
भरियाहरू यहाँ आइपुग्दा–
भारीमा नुनतेल, एक–एक अँगालो सुकेका दाउरा
हारेजस्तो आँखा र उदास–उदास अनुहार !

दिदी !
त्यो चन्द्रमा त्यहीँबाट किन आकाशतिर लागेको होला ?
किन त्यसरी त्यल्ले भरियाहरूलाई छक्क्याएको होला ?
भारीमाथि भारी बनेर किन सताएको होला त्यो चन्द्रमाले ?
कि भरियाहरूलाई गरिब भनेर हेपेको ?
कि भरियाहरूले जबरजस्ती ल्याएका हुन् र भागेका ?
दिदी !
सधैँ त्यो भञ्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू !

भरियाहरू हामीजस्तै सबै कुरा बुझ्दैनन् र असत्य बोल्दैनन्
–होइन दिदी ?
भरियाहरू हामीजस्तै राम्ररी लाउन, खान जान्दैनन्
–होइन दिदी ?
पक्कै यिनीहरू हामीले जस्तै चन्द्रमालाई खूबै माया गर्छन् क्यार ?
र त बोकेर ल्याए नत्र घिस्याउँदै ल्याउँथे, बरु ल्याउँदैनथे
नत्र भारीमै खाँदेर ल्याउँथे, मायाले शिरमै राखे ल्याए
तर दिदी !
किन सत्यले मान्छेलाई सधैँ लखेटिरहन्छ ?
भरियाहरू आफू लुटिएझैँ
त्यो चप्लेटीबाट आकाश हेरिरहेछन् !
 
हैन दिदी !
किन त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लागेको होला ?
यदि म त्यो चन्द्रमा भएको भए भरियाहरूसँगै गाउँ जान्थे
यदि म त्यो चन्द्रमा भएको भए त्यसरी आकाशतिर भाग्दिनथेँ
कति निष्ठुर हगि त्यो चन्द्रमा... ?
दिदी !
के संसारका सारा राम्रा कुराहरू निष्ठुर हुन्छन्– गरिबका लागि ?

हजुरलाई थाहै हुँदैन चन्द्रमा भागेको !
त्यति बेलै हजुर तल खोलामा पानी लिन जानुभएको हुन्छ
तपाईं नफर्किदै–
चन्द्रमा बोकेर थाकेका भरियाहरू
हामीकहाँ एक रातलाई बास माग्छन्/ एक छाकलाई पानी
माग्छन्
र आगो जोर्छन्
मायाले होला– म त सोध्नै सक्दिनँ–
चन्द्रमा कति गह्रौं थियो...?!’

दिदी !
सधैँ त्यो भन्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू
र त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लाग्छ
अनि दिदी !
हामी दुवैलाई सधैँ यही भन्ज्याङमा छोडिराखेर
सबेरै बाटो लाग्छन्– चन्द्रमाजस्तै भरियाहरू !