देश अनप्लग्ड / प्रवीण राई 'जुमेली'
देश कति पछौटे छ हाम्रो भन्दै
र देश भनेको समाज हो थप्दै
अहा सुधारको शोध गर्ने एक दस्ता
जुर्मराइउठ्यो युवाहरुको एक संस्था
सहरमा पो देश त बस्छ भन्दै
फाइल-फाइलमा देश दु:खाउने घाउहरु खोज्दै
चौकी-चौकीमा देश उठाउने भाउहरु कस्दै
सहरको देश सुधार्न उठेका युवा
तिम्रो र मेरो गाँउलाई छाडेर
सहरै पसेका वर्षहरुको हिसाब पनि
बुडी औंलाहरुले राख्न छाडेको कति भो कति
कति खिप्ति गरेर सहरले कमाउँछ बलात्कार
अहा कति शोध गरेर सहरले आर्जिन्छ भ्रष्टाचार
गोही पालेर रुनु सिक्ने कलाका पारखहरु बस्छन् सहरमा
चाणक्य-नीतिको प्रयोगहरुले रङ्गीचङ्गी छ सहर
तर अब त के सुर्ता छ र
जब गोदो१को प्रतीक्षामा बसेको देश खोज्न
सहरमा अवतरित भएका छन् युवाहरु
रोपनी, फँडानी, हाटबजार र ग्रामसभाको
कहिल्यै नसकिने नाटकमा भुलिएका
केटा-केटी र बुडा-बुडीहरु बस्छन् गाँउमा
चिरिएको नङ् र फुटेको कुर्कुच्चा बन्धक राखी पडाइएका
ज्ञानी र बाठे छोरा-छोरीहरु देश खोज्न सहर पसेका छन्
उनीहरुको कमाइबाट केही अंश हाम्रो लागि पनि
छुट्टिन्छ कि भनेर कुर्ने आँखाहरु ढुङ्गा बनिसके गाँउमा
गाँउमा ठूलो हल्ला छैन
गाँउ सँधै चकमन्न छ
कति पछौटे र सानो छ नि गाँउ
मेडिकल रिम्बर्समेन्टबिनै चुपचाप मरिदिन्छ गाँउ
पाखण्ड समवेदनाहरु टाँसिएका खदाहरुबीच
नहाँसी सकिन्छ उसको अन्त्येष्टि-क्रिया
देश तर गाँउबाट भागेर सहर पसेदेखि
अनिणिर्त प्रस्तावहरु बोकेर साना-ठूला संस्थाहरु सबै
सहरको देशमा हल्लाको प्याकसन्याक बाँट्न अति व्यस्त छन्
हिउँका सम्झनाहरुले आगोका गाँउहरु बोकी
न्यायको घर धाइरहने युगहरु पनि थिए ‘रे
त्यस्तो अपत्यारिलो दन्तेकथा पनि हुर्किएकै छ
देश तर जब बाँटिन्छ टुक्रा-टुक्रा बनाई सहरमा
प्रत्येकपल्टै गाँउको हिस्सामाथि
त्यस्ता महान प्रस्तावहरुले रजाईं रचेका छन्
धन्य छ सहर तेरो कंसराजमा हुर्किने मथुरालाई
धन्य छ गाँउ तेरो देवकीमय आँशुहरुलाई
देश सुधार संस्थाका प्रस्तावहरुबिना पनि गाँउ बाँचिरहन्छ
उसको बाँच्ने कलामा ईश्वरहरु नाचिरहन्छ॥