धरती – १ / मनप्रसाद सुब्बा
टाइगर हिल र सन्दकफु जस्ता नामी डाँडाहरुमा होइन
तर गोरुको जूरो र उँटको ढाड भई उठेको पहाडमा
धरतीले धेरै दुःख भोग्नुपरेकोछ
विचरा ती हिँड्ने पहाडहरु
जसको कुनै खास नामै छैन !
क्षितिजसम्म फैलिँदै गएको मधेश-फाँटमाभन्दा बढी
दिनभरिको मजदूरीपछि पाएको
सुक्खा रोटीको फैलावटमा
यो धरती एकोहोरो घुमिरहेको हुन्छ ।
गाडीका चक्काहरुले फनफनी लपेट्दै
धरतीलाई कहाँ कहाँ पुर्याउँछ थाह छैन
तर गोरेटो, गल्ली र फुटपाथको अटुट हिँडाइमा
अनगिन्ती पैतालाहरुसित धरती सँधै गइरहन्छ..आइरहन्छ..
लिफ्ट अर्थात् स्केलेटरमा होइन
तर भारी थाम्ने खुट्टाको एक एक कदमसित
या त कुइना र घुँडाले टेकेर घस्रिँदै
धरती सर्छ बिस्तारै निरन्तर
उकालो
अनि
ओरालो
धरती अहिलेसम्म कति हिँडिसक्यो त ?
उत्तरको एक ठेली महाभारत
ती फाटेका जुत्ताहरुमा हेर्नू
अर्थात् अनगिन्ती हरिनास फुटेका कुर्कुच्चाहरुका
चिरा चिरा अक्षरहरुमा पढ्नू ।