पारसगाद / एन्थोनी रोबर्ट्स / सुमन पोखरेल
मलाई आफूतिर डोहोर्याउँदै
प्रवेशका लागि अनुरोध गर्दै
हातहरूलाई शताब्दीऔँसम्म फैल्याएर
निरन्तर आफूतिर तान्दै
मैले सधैँ खोजिरहेको प्रेम दर्साउँदै
तिमीले मलाई बोलाएको सुनेको छु ।
अहिले आइपुगेको छु म
मेरा जेजे थिए ती सबैको दावी गर्न।
तर मन्दिर रहेनछ यहाँ
मात्र मौनता रहेछ, र
मेरो स्वागत गरिरहेछन्
एउटा चिहानका शब्दहरू ।
“ए मान्छे, तिमी जोसुकै भए पनि, जहाँसुकैबाट आएका भए पनि, मलाई थाह थियो तिमी आउनेछौ, फारसीहरूलाई तिनीहरूको सम्राट दिने साइरस हुँ म, द्वेष नराख मसँग, र, मेरो शरीरलाई ढाक्ने धरतीको एक टुक्रो यो चिहानसँग।“
मलाई उसको धर्ती चाहिएको छैन
चाहिएको छैन मलाई उसको शरीर
मलाई त तिमी चाहिएको छ
तर तिमी छैनौँ यहाँ ।
चिहानअगाडि उभिएर
हेर्छु म,
चारै दिशा देख्छु मरूभूमिको बालुवा मात्र ।
र मसँगै साइरस रुँदै गरेको सुन्छु ।