भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - एकादश सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
घार सय नब्बे है तिर
उत्तर भारत थर र हर
लडाईंको बादल घर र घर
आकाशमा मुश्लियो ।
रजपूत वीरका मनमा पनि
त्रासको छाया आकाशमनि
पारेर उठयो के गरूँ भनी
भारतको कालो द्वेष बनी
बादल मुश्लियो ।
 
(२)
अभागी थिए दुइटा द्वारा
भारतका अभागी ।
म्लेच्छका दुइटा आँखाके काला
जसबाट बल्थे लडाईंका ज्वाला
जङ्गली जाति बा र भाला
लिएका वैरले ।
पश्चिम उत्तर कुनाका छिद्र
जसद्वारा ताण्डव गर्दथे रुद्र
नदेख्दा हामी हिन्दूले भद्र
वैरमा वैरले ।

(३)
इस्लामका नयाँ जोशका ज्वाला
धसिङ्कर जंघे गोरा र काला
लिएका तरबार, बर्छा र भाला
जङ्गली जोशका ।
ज्यानलाई हातमा लिएर हिँड्ने
काफिर नामका भेटेमा गिँड्ने
भारतलाई बीच र बीचमा
ल्याउने भए ईश्वरको ऐनले
सङ्केत होशका ।
तिनको मार खाएर भारत ईश्वर रोषका
बराबर फेरि बिउँतेर लिन्छ
सङ्केत होशका ।

(४)
इस्लामका फौज तालीम गरी
वैरन तयार ।
भारतको धावा, डिल्लीको दावा
महम्मद घोरी छ भन्ने हावा
फैलेर हजार ।
के गरूँ भनी हिन्दूका मणि
रूँ रूँ के गर्दछन् ।
फुट र छुटको काल र झूट
पिएर बस्ने ईर्ष्यालु राजा
स्वार्थको दिन दिन बजाई बाजा
हाँसेर हेर्दछन् ।

(५)
उछकी रानी, कामकी खानी
छत्तिसा नखरे ।
सनातन धर्म कलङ्क थिइन् ।
उज्याली मुखरे ।
राज्यलाई स्वास्नीमानिसलाई दिनू
खराब छ भनेर ।
किन है त्यसै ऋषिले भन्थे
मनमा गुनेर ।
कामिनीमाथि काञ्चन थपे
कलिले धिपिक्क ।
बालेर बत्ती भारत लग्छ
टिपेर टपक्क ।
महम्मद थियो चतुरो छटू
भित्रको चाल पायो ।
भारतको सिंहासनको लटू
उछमा भेट्टायो ।
फुकेछ कान खिंचेछ ध्यान
नखरे नारीको ।
लडाईविना रुधिरविना
काखमा रानी बसालीकन
राज्य नै थियो सगेद्यो धन
उसमा भारीको ।
एक तरफ राज्य एक तरफ रानी
कामकी बखानी ।
गुलछर्रा त्यल्ले उडाइहाल्यो
भाग्यमान मोरो
इस्लामको छोरो
हिन्दुलाई धोखा दिने ती रानी
भारतभरका स्त्रीभरमा कानी
उत्तम भावले रहित सानी
सुटुक्क पसिन् मुसल्मान काखमा ।
हिन्दूको छाती वज्रले हानी
सम्झँदै आउँछ आँखामा पानी
बिग्रिने स्त्रीको लौ हेर बानी
नराख गादी नखरे नानी
मौरी हुन् मूर्ख संसारभरका
महका चाखमा ।
यौटा र दुइटा कहिलेकाहीँ
देखिन्छन् हेर्दा उज्यालाचाहिँ
हजार लाखमा ।
अग्निमा जल्दो सतीको ज्वाला
सँगमा दाँज्दा यी भाव काला
आफ्ना नै मनमा सल्किन्छ ज्वाला
सहज क्रोधको ।
तिनलाई हामी चढाउँछौँ पाती
जो तीतेपाती भन्दछन् जाती
स्यालको सिँग फ्याउरोको छल
मुजूरको पङ्घ नाच्नलाई तल
मुसाका दाँत मुसाका पुच्छर
झल्कने तीरका बालुवा दाना
मकैका सुँघा ठूला र साना
छत्तिसा फूला, कुखुरे सिउर
स्पालका गङ्गा तीरका गाना
सडलपडल फूलका नाना
बालकको आखिर धर्धरे स्वर
मृत्युको गोदको ।
रेटेर राज्य
भेरेर कामी
संसारभरकी
यी हुन्छिन् नामी
उछकी रानी नखरे कानी
कलङ्क भारतकी ।
त्यसैमा देख्छौँ नखरा हामी
सकल स्वारथकी ।

(६)
गुजरातका राजा बहादुर थिए
ठोकेर पठाए ।
तिनको रीसले पञ्जाबमा गई
मुहम्मद मियाँले खुश्बूलाई झारी
गादीमा बसी उनको जात्रा .
गाईजात्रा देखाए ।
सिरहिन्दका ती हिन्दूका राजा
समस्त कुकाए ।
भारतको दौलतका थैला पनि
धेरैले फुकाए ।

(७)
अहिलेसम्मन् जुम्साका जुम्रा
राजा ती भारतका ।
कानमा तेल हालेर बस्थे
स्वप्नामा स्वारथका ।

(८)
भविष्यलाई एक कदम अघि
नदेख्ने काना ती ।
महका राना, लम्पट नाना
कुरामा साना ती ।
सर्पझैँ अन्धो वैरमा बस्थे
घमण्ड फुलेर ।
भाइ र भाइ लडाँई गरी
भारत दलेर ।
आफ्नै हो संसार भनेर हाँकी
प्रजालाई मिचेर ।
मपाई कीर्ति बढाउँला भनी
सब जना थिचेर ।
सधैं हो यस्तै प्याला र प्यारी
भनेर भुलेर ।
भविष्यलाई अँध्यारो पर्दा
भित्रको भोलि तुल्यको मुर्दा
सम्म चलेर ।

(९)
जयचन्द राजा अहम्‌का थिए
विश्वका भकारी ।
मपाईं कीर्ति फिँजाउन सधैं
गर्दथे तयारी ।
मुजूरका पत्र फिंजाई बसू
भने उनलाई ।
म्लेच्छले ढोका घच्घच गर्दा
जोरी र पारी मारूँला मुर्दा
ती मरे खुल्छ यशको पर्दा
भनेकै स्वार्थी भावले भर्दा
मोह भो तिनलाई ।
पृथिवीराजको इाले भरी
द्वेषको मनलाई ।
 
(१०)
तर त्यो भारतबीचमा यौटा
वीरको रूपमा थियो है द्यौता
स्वर्गको उज्यालो ।
उसैले बाल्यो जगमग ज्योति
वीरको जोश दशाका बेला
गजबले निकाल्यो ।
 
(११)
अनेक समरहरूको वीर
भारत बुझने स्वभावको धीर
मनमा लिई इस्लामको पीर
सङ्गठन बनायो ।
तुरही जस्तो भारतको बनी
जगाउन सक्ने मुर्दालाई पनि
सागर दिलको गहिरो ध्वनि
सबैलाई सुनायो ।
वीरका माशी जागेर उठे
उसले बोलायो ।
सुतेका नजर भारत वीरको
डकाले खुलायो ।
 
(१२)
देख्नेले लागे उसका पछि
रणका भेरीमा ।
उनलाई बनाए सेनाका पति
ऐक्यका घेरीमा ।
देख्नेले देखे सत्यानाश थियो
आलस्य देरीमा ।
 
(१३)
इस्लामको राक्षस बाएर मुख
भारतलाई निलन ।
आएको बेला थिएन पहिले
हिन्दूको मिलन ।
इर्ष्या र द्वेष अनेक थिए
दशन चिलन ।

(१४)
इस्लामको राक्षस मुख बाई आयो
तरबारका दाहाले ।
सभ्यता निल्ने खाल्डो पेट
अन्धकारलाई फैलाउने म्लेच्छ
सभ्यको आहाराले ।
जिभ्रोमा थियो गाईको रगत
रुधिरको धाराले ।
संस्कृतिलाई भारतको पिऊँ
भनेर साराले ।
कला र विद्याको छाती चिर्ने
दाँतीका आराले ।
थरथर हुन्छे भयङ्कर मूर्ति
देखेर साराले ।
फुटको भारत मिलाए तर
वीर हाम्रा प्याराले ।
 
(१५)
मरु छ संसार हिँउले खालि
भारत नखलिस्तान ।
आँधीमा आउँछन् जङ्गलका हावा
बनाउन रेगीस्तान ।
तैपनि हाम्रा पहाडमै वीर
हरूले बचाए।
अरूले खालि मूर्खको मुकुट
कुखुरे सिउर राज्यको रहर
ढुङ्गाका चाचा, झिलमिली पारी
वेश्या नचाए ।

(१६)
सङ्गठन हाम्रो भएन राम्रो
आलाम भारतमा ।
म्लेच्छका पयर छुनलाई सधैं
लोभ र स्वारथमा ।
काटी र कुटी भारतको नाउँ
कुखुर सिउरे गर्दछन् धाक
निर्धा र दुर्बलहरूमा हाँक
हा: भरत राजाले ।
फुटेको घर मिलाइदिने
टुटेको वस्त्र सिलाइदिने
प्रजाका दिल रुलाइदिने
हिन्दूको मान भुलाइदिने
चाचामा राम्रा कुलाइदिने
म्लेच्छका जातिले ।
भारतको भाग्य यस्तै छ हरे ।
के हौंला हामी के भनूँ भरे
दवाइ खाँदो आत्माले सधैं
नजरभरि आँशु नै भरे
हामीलाई रुलाई
हाँस्नेले गरे
शासन लात्तीले ।
आर्यको आत्मा दु:खीनी बरी!
लाचार चरी नबोली मरी
पखेटा भित्र छिपाइवरी
घाउ ली राता विषका शरका
स्वर्गमा आँखा दयाको तरी
आँशुमा भाषा जीवनको भरी
हृदय जलन मुटु भै मरी
ठोकरहरू दुष्टका परी
अँधेरी रातीले ।
मनको इच्छा मनमै रह्यो
नबोल्ने भाषा आँशुमा बह्यो
सहनशीलले सीमातक सह्यो
नदेख्ने आगो दिलमा दह्यो
भारतको आत्मा कसले कह्यो
हिन्दूको जातिले ।
हा: कठैबरा ! कहाँ छन् आत्मा
जो आँशु झार्थे भारतका पातमा
जसलाई दबाई दुष्टले रातमा
मूकको गति पारेर लियो
सहज अहम्मान ।
झुकेको जाति
खाँदोछ लात्ती
सुधो है पनको लाउँदो छ पाती
अँधेरी ज्वाला बाल्दो छ बाती
हिन्दूका आँखा लाल लालमा झर्छन्
हिन्दूका भाषा अकालमा मर्छन्
गौप्राणी जस्ता गलामा पर्छन्
क्रन्दनविना रोएर मर्छन्
दुष्टले राख्छ शान ।
भारतको आकाश पवित्र थियो
गिद्धले आई पखेटा लियो
आँशु भो बादल
बादल भो आगो
जलेर खालि खरानीमा गो
अँधेरी अवसान ।
हा: कठैबरी ! मनकी चरी !
आँशुका दाना पखेटाभरि
उड्नलाई पाए स्वर्गको पुरी
खोलेर छाती देखाउलिस् छुरी
दर्दका दाना यी हजार मुरी
जीवनमा हुन्न जो न्याय त्यसको
आशाले राखी प्राण ।
तर हा: गयो, तर हा: लियो
म्लेच्छले अभिमान !
साधुका आत्मा हजारौं रोए
ब्राह्मण गाई आँशुमा गए
जालीले बुन्यो तान ।
अमृत फल्ने खेतमा फल्यो
विषको कालो धान ।
पानीमा पो हलाहल हरि
कलेजा जल्ने पान ।
आँशुका घुड्का पिएर बस्यौँ
सकल हिन्दुस्तान ।
आगोमा जली नजरमा लाल
बनेर राख्यौँ प्राण ।
दिन र रातको बुहार्तन खाई
अरूको हेरी शान ।

(१७)
जय र जय ती हिन्दू वीरको
आत्माले भन्दछ ।
जसले ब्राह्मण साधु र गाई
रोएर सुन्दछ ।
भारत छैन रवाफ शानमा
भारत छैन हीराको खानमा
भारत छैन ठूलाका मानमा
भारत छ अरूमा ।
ब्राह्मणका दिनको ज्योति ली चरी
जो बोल्छे भित्र मधर गरी
साधुकी दिलकी मुनियाँ सानी
जसमा हुन्छ दुनियाँ नानी
गाईका आँखाहरूका पानी
प्राचीन वीरका नाम ।
अरू त झूटो यो थोत्रे नक्कल
भारत कसले देख्यो है सक्कल
स्वर्गको पुरीग्राम ।
जय र जय ती हिन्दू वीरको
जो राख्छन् भारत नाम ।

(१८)
शिशुको आत्मा सँगमा सोध
हे भाइ छाडी राग र कोध
त्यसको दिलको ढुक्ढुकी बोध
चरीले बोल्दथे ।
भारत भन्ने कस्तो छ कहाँ
"आमा" को तोते खुल्दछ जहाँ
"यी मेरी आमा” फुल्दछ जहाँ
मेरो यो ध्वनि बोल्दछ जहाँ
मुटुले खोल्दछ ।
दीनका आत्माहरूको खोज
रहन्छ जहाँ रोजको रोज
छोडेर संसार तर्फको मोज
प्राचीन टूनामा ।
क्यै भुले जस्तो, क्यै नभए जस्तो
नपाइने त्यसै मोलले सस्तो
नभन्न सकिने यस्तो र उस्तो
जो जागी उठ्छ बिहानी सुनले
हृदय टुनामा ।
गरीब दुःखीहरूका आशा
पाउँदैनन् जसले संसारमा भाषा
जो सत्य खोज्छन् तोला र मासा
आर्यको पनामा ।
चाहन्छौ के के हे दिलका चरी
मधुरो ढुकढुक हृदय भरी
के खोज गछौं जीवनभरि !
हा: बरा भारतको ।
त्यसलाई भाषा खोज्दैमा बसें
हजार दावानलमा पसे
हजार विच्छीहरूले डसे
पाइनँ भाषा त्यो ।
रोएर दिनदिन समय खोला
किनारमा डुल्न माझेर चोला
त्यो भाषा कहाँ कसरी होला
भनेर घुम्नेछु ।
तर त्यो भाषा नजीकै आउने
संसारलाई मोहनी छाउने
कविले बसी दिल कुञ्ज गाउने
वीरका हृदय ।
जो मैले यहाँ उद्घाटन गर्छ
जो ज्योति पाउन जन्मेर मर्छ
पढ़ है सदय ।