भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - सप्तम सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


(१)
यो वैरदेखि
यो फूटदेखि
भारतको बारीमा ।
चनाखा आँखा म्लेच्छका थिए .
उब्जनी भारीमा ।

(२)
छुट्टेको मास चीलले लच्छ ।
देखिन्छ झम्टेको ।
कालले बूढो थलाको गोरु
आदर्श बूढो भएर मरु
बीचमा लेटेको ।
सडेको नसा कीराले खान्छ
दुर्बलमा भेटेको ।
प्रकृति नियम यस्तै छ ज्ञानी
कमजोर आँखा हाम्राले ध्यानी
जगत्मा भेटेको।
योग्य नै हुन्छ है अतिजीवी
सत्यको योग्यता ।
नाशका फौज बढेर लिन्छन्
सडल भोग्यता ।

(३)
भारतमा जब सत्यको शासन
ऐक्यमा रहन्थ्यो ।
भारतलाई हेरी म्लेच्छको शिर
स्वभावले नुहुन्थ्यो ।
आदर्श ताजा स्वर्गकी धेनु
प्रजाले दुहुन्थ्यो ।
प्रेमको गगन बीचमा शान्ति
 अमृतमा चुहुन्थ्यो ।

(४)
भाइ है फुटे, गवाँरले लुटे
ऐक्यमा टुटे, दुश्मन छुटे
चिरिए आफू अरू नै जुटे
नाशका सेनाले ।
दुर्बलको दशा हेरेर बस्छन्
बेहोशीलाई आएर डस्छन्
अरू भै गर्वी सबैलाई नास्छन्
विश्वको यौटा ऐनको तत्त्व
लेन र देनले ।

(५)
जबतक भारत आफूमा सच्चा
बस्दैनन् कुनै दुश्मनका बच्चा
पर्दैन कुनै घमशान घच्चा
लुट्दैनन् आई लोभी र लुच्चा
डराई पन्छिन्छन् ।
तर जब नाता टूटमा हुन्छ
तर जब भाइ फूटमा हुन्छ ।
भारत आकाश अँधेरो हुन्छ
लुटेरा धुरिन्छन् ।
जब है हाम्रा सत्यका भाव
झूटाले पुरिन्छन् ।

(६)
शिहाउद्दिन गौरका राजा
इस्लामी तरबारका ।
जोशिला थिए होशिला थिए
पहाडी घरबारका ।
भारतको सुनको बालाको खेत
देखेर लोभका ।
नजर तिनका विजय ताक्थे
क्षेत्रमा शोभाका ।

(७)
हिमालका छन् चाँदीका चूली
बिहान साँझ सुन फुली
अभेद्य किल्ला रजतको बली
लहरमा पग्लेका ।
छन् नागबेली खोला र नाला ।
कलझल सँग्लेका ।
पन्नाको रङ्ग हरियो फैलाई
सुनबाला फुलाउने ।
जङ्गलका छन् सिंहका शासन
फलफूल फुलाउने ।
मैदान लामा सागरका छाती
हरिया सागरका,
हीरा र मोती घर र घरमा
झरेझै झरकर आकाशबाट
झल्केर बोलाउने ।
स्वर्गकी भूमि अमृत रसले
हृदय पिलाउने ।
सुन्दरताकी भण्डार जस्ती
हेर्दैमा भुलाउने ।
सुनौला गजुर उठेका शहर
तटमा फिल्मिली ।
हीरा र मोती जडेको सुन
सिंहासन स्वप्ना देखेर हेयो
घोरीले टुल्टुली ।

(८)
मशलादार बहने हवा
शस्यमा श्यामल ।
लह र लह सुनका बाला
मोती चाँवल ।
सुगन्ध भरी मग्मग गरी
आत्माले खुसाउने ।
अन्न र दौलत, विद्याको देश
देवलाई सुहाउने ।
सुँघेर गयो घोरीले भारत
मगमग बास आउने ।
तीन तरफ जसलाई सागर छन् नीला
रक्षणका घेरामा ।
विशाल संसार चल्दछ जसका
विशाल फेरामा ।
सुनको मुजुर नाच्छ रे भन्थे
हीराका आँखाले ।
भारतको राजदरबारभित्र
खरका शाखाले ।
मोतीका झुम्का लाएका चरी
रूखमा बोल्दछन् ।
साँझको तारा समानको हीरा
लाएर शिरमा भारतका राजा
बागमा डुल्दछन् ।
भनेर भन्थे अघि र अघि
समचार ल्याउनेले ।
त्यो कत्रो स्वर्ग त्यो कत्रो शासन
राज गर्न पाउनेले ।
 
(१०)
विजय इच्छा चढेर आयो
स्वर्गलाई देखेर ।
देव र परी अनेक थरी
दौलतको सारा छेलो र खेलो
भारतमा देखेर ।
गज्नी र घोरमा दु:खले बस्थे
कमाइ कडामा ।
यहाँ त थियो जुहारत लाखौँ
सुनको घडामा।

(११)
सपना देख्यो घोरीले रातमा
भारत देखेर ।
घोडामा चढी सुनको छोडा
श्रीपेच लगाई आलम भारत
टापले टेकेर ।
बाइपङ्के हाँकमा, मदिरा प्याला
लिएर पिएको ।
अल्लाको दयाबाट हो भन्यो
सपना दिएको ।
 
(१२)
नगोडे पनि लह र लह
सुनको बालामा ।
अमृत सिर्का भारत भूमि
फूटको चालामा ।
टुक्रा र टुक्रा भएको देख्यो
भाइको वैरले ।
सुनौला मौका देखेर भन्यो
विजय शैरले।
यो भारतलाई इस्लामी तरबार
उठाई लिउँला ।
भारतको प्याला सिंहासनमाथि
बसेर पिउँला ।

(१३)
त्यस बेलादेखि डिल्लीको शहर
लिनको रहरमा ।
चिन्तामा बस्थ्यो तयारी गर्दै
सकल प्रहरमा ।
विजय अश्वटापका भनी
मोतीको खोलामा ।
सुनको सारा बालुवा देख्यो
भारतको चोलामा ।
रूखमा देख्यो जुहारत फुल्ने
शहरका सडकमा ।
मदिरा मीठो बहेको देख्यो
राजाको भडक्मा ।
जन्नतका हुरी नाचेको देख्यो
गालाले गुलाफी ।

(१४)
बोलाई भन्यो सर्दार भाइ
"हे मेरा प्यारा हो !
इस्लाम धर्म फैलिने कर्म
मुसल्मान भन्ने नामको मर्म
बुझेर सारा हो ।
अल्लाले दिएको यो मेरो सपना
सबैले सुनेर ।
अल्लाको हुकूम् राखन ज्यान द्यौ
मनमा गुनेर ।
आज है देखें मैले है राती
अल्लाको निगाहा !
आलम भारत इस्लाम काबू
म हदैन फटाहा ।
अल्लाले हाम्रो इस्लामी झण्डा
उचाली बोलाए ।
भारतको भूमि जन्नते जहाँ
औंलाले देखाए ।
आलम हिन्दूस्तानको शाहा
भनेर क्या भारी
मलाई गरी निगाह ठूलो
हीरा र मोती लाएको ताज
शिरमा लगाए ।
सुन हे वीरहो ! सुन हे धीरहो।
धर्मको हुकूममा ।
अल्लाको सधैं इशारा पछि .
कुरानको रकममा ।
सच्चाको जाली जन्नते जीवन
धर्मको दावामा ।
इस्लामी तरबार झलमल कल्काई
भारतको धावामा ।
प्राण नै अी वीरको नाम
अमर पारेर ।
अल्लाको मर्जी राखे है भाइ
धर्मको नाममा हृदयलाई
रगतमा झारेर ।
मरेछ जन्नत जिएछ साज
भारत साराको ।
कुरानको वादा म सुन्न चाहूँ।"
स्वधर्मी प्याराको ।

(१५)
उठाई तरबार झलमल पारी
पहाडी घाममा।
स्वर्गमा देखाई इस्लामी स्वर्ग
सम्बोधन गर्दा ती बन्धुवर्ग
सरदार सिपाही जोशका ज्वाला
पारेर सारा सुंघाका काला
अल्लाको नाममा ।
सिकन्दर दोस्रो धिपिक्क बल्दो
विजय सुरा पिएर जल्दो
आँखा है फर्काई सूर्यमा बल्दो !
घोरीले सुनाए ।
एकै नै साथमा
तरबार हातमा
झिलमिल पारी
वारि र पारि
पहाड सारा गर्जाई गर्जाई मुसल्मान कराए।
"अल्ला हो अकबर !"
अल्ला हो अकबर !
कुरानको वादामा !
कहिल्यै त्यस्तो भएन दृश्य
त्यो ठाउँ खादामा ।

(१६)
आलम हिन्दू
तरेर सिन्धु
यसैले जितूँला ।
तयारी गर हे भाइबन्धु
इस्लामको आवाज अश्मानमा दिई
भारतमा उठूला ।
मुटु छ साथी
अल्ला छ माथि
धर्मको समर कुरानको तवर
गर्नलाई बढूँला ।
भनेर घोरी मेघका शोरी
सबैमा सुनाउँछन् ।
आकाशमा हेरी अल्लाको हुकूम
भएको सुन्न थापेमैं कान
सिपाही टोलाउँछन् ।

(१७)
हामी छौँ थोरै
हिन्दू छन् धेरै
कडोर हजाराँ !
तैपनि अल्ला, धर्म र ऐन
सङ्गठित गर्लान् सबैका नैन
नकाँपी देलान् मुटुमा सारा
मुसल्मान नामको भाइले प्यारा
जन्नते शराब अल्लाले दिने
मुटुको फु आरा !
फूट र वैर विरोध खालि
काफिर जातिहरूमा जाली
सच्चा हो इस्लाम धर्ममा होला
जन्नते दु आरा ।
सङ्गठन हाम्रो विरादर राम्रो
इस्लामको तरबार ।
नबिर्ने हाम्रो
इस्लामको ढाल
नफुट्ने चाम्रो
लिएर लढूँला ।
अल्लाको हुकूम कुरानको रकम
लिएर बढूँला ।
मरे है जन्नत जिए है ताज
भारतमा चढूँला ।

(१८)
"अल्ला हो अकबर !
अल्ला हो अकबर !"
पहाड गुजिन्छन् ।
अश्मानमा हजार तरबारका झल्का
जन्नतको तरफ जोशमा फिल्की
कुरानका अक्षर कल्के दिलमा
घाममा झल्कन्छन् ।
भारतको दौलथ हीराका पहाड
सुनेर आँखा पहाडी वीरका
लोभले टल्कन्छन् ।

(१९)
सुनाउँछन् त्यहाँ घोरीले फेरि
कहानी महम्मद ।
कैसरी गज्नी भारतमा चढे
एक मुट्ठी फौज लिएर बढे
अल्लाका बलले लाखसँग लडे
विजय गर्दै सोमनाथमा चढे
सम्झेर अहम्मद ।
संसार जित्न एकनवी काफी
सच्चाको दिलले ज्यान दिनु साफी
भनेर सुनाई ।
कुरानका कथा इस्लामका ज्यथा
उचित ठाउँमा सुनाइदिन्छन्
सबैलाई रुलाई ।

(२०)
हिन्दूले भन्छन् रीसले धेरै
घोरीलाई गालीमा ।
प्रकृति बुझी मानव यस्तै
आँशुका थालीमा ।
भारतनाशको खेद ली मनमा
तैपनि हामी प्रशंसा गछौँ
धन्यको तालीमा ।
भूल त हाम्रो हिन्दूको सारा
फूट र वैर लिएर प्यारा
भारत गुमायौँ ।
तैपनि हामी मुसल्मान जाति
धन्यका वीर विरादर जाति
भनेर दिन्छौँ सत्यको पाती
धर्मका सच्चा दिलका तेजी
विश्वासका सारै बलियो रोजी
भाग्यले तिनलाई पठायो खोजी
भनेर सुनायौँ ।
नरीस गर हे बन्धुवर !
ईश्वरको ऐन विचित्र छैन
कूटको दण्ड बलको चैन
हाम्रा छन् वैरी आफूमै भित्र
मुसल्मान ह्वैनन् दुश्मनका चित्र
भनेर हाम्ले सत्यका नामले
कविता बनायौँ ।
जात र धर्म अनेक कर्म
भित्र छ दिव्य ऐनको मर्म
सत्यता एकै छ ।
हिन्दूले रुनु हिन्दूको नाशमा
आफैलाई शिक्षा दिनु पो उचित
ईर्ष्या र द्वेष नबढाऊ हातमा
सत्यता यौटै सिंहासनमाथि
सबैको लेखै छ।

(२१)
भारतको फूटमा हिन्दूको टूटमा
ईश्वरको ऐनले ।
इसारा दिन्छ अरू नै जाति-
लाई है देखी अधेरी राति
गठिलो पारी बनाई जाति
दिव्यको नैनले ।
जहाँ छ ईश्वर सत्यको कमी
हवाझैँ हुँदा एक ठाउँ पातमा
हुरीमा चल्छ ईश्वर घुमी
स्वर्गको ऐनले ।

(२२)
महम्मद घोरी जोशले भरी
धपधप बलेर ।
मौका है हेर्थे भारत लिन
दाउले चलेर ।
भारतका राजा नाचमा थिए
परी र प्यालामा ।
गज्नी र घोरका वीर है थिए
नवीन ज्वालामा ।
सत्य है थियो भारतभित्र
बोके है थलामा ।
भारतका राजा मखण्डी थिए
फूटमा कालामा।