भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बुद्धहरुले नृत्य गर्नुपर्छ यो बेला / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


समाधिस्थलमा
समाधिरत बुद्धहरु
एक्काशि !
आनन्दले परिपूर्ण भइ
मस्त नृत्य गरिरहनु पर्छ ।
यूद्धहरु शान्तिको आसक्तिमा
रात रातभर छिल्लिरहनु पर्छ ।
म्वाइँ खाएर गुलाफहरुलाई
हिंस्रक बाजहरु नीलो आकाशभरि
उन्मुक्त कावा खाइरहनु पर्छ— यो बेला ।
यो बेला

मेरो मायामा ईश्वरत्वको दाबी गर्दै
शब्दहरु प्रक्षेपण गरिरहेछु
इतिहासको कालो अन्तरिक्षमा
कि
ए मीरा !
म तिमीलाई प्रेम गर्छु
म तिमीलाई इतिहासबाट उखेल्नेछु
कृष्णको सम्मोहनबाट स्वतन्त्र गर्नेछु
मूर्तिको कैदबाट उन्मुक्त गर्नेछु
र,
आजीवन तिमीलाई माया गरिरहनेछु ।
सत्ते !
बुद्धहरुले प्रेम गर्नु पर्छ— यो समय
मन्दिरको मस्तिष्कमा हुन्डरी आउनेछन्
मस्जिदका कानहरु ठाडा हुनेछन्
गिर्जाघरका आँखाहरु आश्चर्यले खुम्चिनेछन्
तर
सत्ते !!
बुद्धहरुले पनि नृत्य गरिरहनु पर्छ
बुद्धहरुले पनि प्रेम गरिरहनु पर्छ
यूद्धहरु शान्तिको आसक्तिमा
रात रातभर छिल्लिरहनु पर्छ
बाजहरुले निर्मल गुलाफहरुलाई म्वाइँ खाइरहनु पर्छ
जसरी
निस्फिक्री
र निश्चिन्त
प्रेम गरिरहेछु म इतिहास-स्त्री — मीरालाई !
माया गरिरहेछु मायाकै प्रतीक — मीरालाई !!