भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मन दुखेको छ / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


परिवारभित्रैका मुल्याहाहरूबाट
छरछिमेकका छुल्याहाहरूबाट
अत्यन्त अन्तरङ्गहरूबाट
एकदमै अपरिचित बहिरङ्गहरूबाट
मन घरीघरी आहत हुनेगर्छ
चसचसी घोचेर दुख्ने गर्छ ।

नमातिए पनि जथाभावी बोल्नेहरूले
मातिएर शिष्टतालाई पोल्नेहरूले
वीरभद्रको देशका अभद्रहरूले
लुगा लगाएकाहरूको नाङ्गो संस्कृतिले
सुन्दर शब्दजालभित्रका कुरूप विकृतिले
मन घरीघरी आहत हुने गर्छ
भतभती पोलेर दुख्ने गर्छ ।

त्यसो त मन पनि उस्तै छ
कलकलाएर तरङ्गित हुने पानीजस्तै छ
तरल छ, सरल छ
उष्णता पाए स्नेहको बाफ बन्छ र
हावासँग कावा खाँदै माथि–माथि उड्छ
शीतलहरले सताए उपेक्षाको बरफ बन्छ र
स्तब्ध स्थिर रहन्छ ।

मन दुखाउनेहरू दुखाउने गर्छन्
बाढीग्रस्त क्षेत्रको पीडाले मन दुख्छ
टनकपुरको संवेदनशीलताले मन दुख्छ
ध्वस्त हुन्छ बगदाद र मन दुख्छ
मन असह्य भएर दुख्छ
सोमालियाको नरकङ्काल मानवदेहसँग मन दुख्छ
बोस्निया हर्जगोबिनामा पुग्छ अनि मन दुख्छ
छिमेकदेखि सुदूर परिवेशको यात्रा तय गर्छ
र मन दुख्छ
यसरी सबै–सबै कुराले प्रसन्नतामा
कालो कात्रो ओढाएको छ
पानीजस्तो कलल–सलल बग्ने मनलाई
नराम्ररी दुखाएको छ ।