Last modified on 5 मई 2017, at 09:16

मूर्ति ठूलो बन्छ / धुस्वाँ साय्‌मी

मूर्ति
ठूलो बन्दछ मूर्तिकारभन्दा

भगवान् बनेको मूर्तिलाई
पुज्दछन् सबैले
बनायो कसले मूर्ति
बिर्सिदिने गर्छन्
 
भक्त
मूर्तिकारलाई होइन मूर्तिलाई
पुज्ने गर्छन्
फेरि मानिसलाई किन
भगवान्भन्दा
आफ्नो स्रष्टाभन्दा माथिल्लो आसन
दिइँदैन
अनौठो कुरो।
जब सिर्जना हुन्छ ऊ
तब पनि
उसको कुनै महत्ता हुँदैन
र स्रष्टा
बनेर, भएर पनि त्यो स्थान
पाउँदैन
जुन प्राप्त हुन्छ भगवान्‌लाई
दुवै अवस्थामा

यो भगवान्‌को षड्यन्त्र हो
अथवा
यो मानिसको मानिसप्रति
जलन–ईर्ष्र्या
अनि द्वेषको मनोभावना हो

मानिसको
यही स्वभाव, आपस्तको वैरी–भावनाको कारण
आज उसलाई
मानिस भएर पनि मानिसको मर्यादा
सम्मान प्राप्य छैन