भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मृत्यु / श्रवण मुकारुङ
Kavita Kosh से
आलो मृत्यु
खास अनुभूति हो समयको
जो, गुज्रिरहन्छ एकतमास...
जसरी सगरका पहेँला आँखाहरूमा
हरेक साँझ–
क्षण लेख्छ– अर्को इतिहास राता–नीला रगतहरूले
म मान्दिनँ– आतङ्क
मानिसको मृत्यु हो
घर जल्नु
बम पड्कनु
पुल भत्किनु
अहँ
म मान्दिनँ– आतङ्क
समय हिँडेको बाटो छोडेर
त्यस्सै...
चुपचाप...
उङ्नु/झुल्नु/स्वाँ–फँवा निदाउनु
यस्तै केही हो आतङ्क
जो बिचारिरहन्छ बकुल्लाझैँ
पानीचरा, माछा, भ्यागुता र खेत ।
हजारौँ मानिसहरू मरिसके
हजारौँ मानिसहरू मरिरहेछन्
सम्भवतः
हजारौँ मानिसहरू मर्नेछन्
कहिले मर्यो विचार... ?
कति मर्यो विचार... ?
कहिले मर्दै छ विचार... ?
अथवा
आतङ्क... ?