मेरिजुआनाको लत / ईश्वरवल्लभ
पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त हो त्यसैले
बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो
यस यात्रादेखिन्
उस यात्रासम्म
यहादेखिन् पर दूरन्तसम्म
सबै दिगन्तहरूसम्म, सबै सिमानाहरूसम्म
पुग्ने र जाने इच्छाहरू र क्षितिजमा वास बस्ने इच्छाहरूसम्म ।
आकाशका नीला-नीला भुवाहरू
कहिले सपना पनि भएका हुन्
कहिले बेँसी र लेक भएका हुन् यात्रामा
कहिले कुनै बिसौनी र विश्राम भएर ठाउँ-ठाउँ
रोकिएका हुन्
त्यहाँ देखिएका विम्ब र स्वरूपहरूमा कहिले
म आफूलाई अनुवाद गर्छु यसो हुनाले
तिमी के हौ म चिन्दिन
पलाँस र गुराँसको बोट लाग्छ, राता फूलहरू
गुलाबी, सेता र बैजनी फूलहरू ।
गुम्बजहरू
छानाहरू, ओतहरू र गुफाहरू
यात्राका बिसौनी र विश्रामहरू
भइगो
म पानी हुँ भने
म बगुँला यात्रामा
तिमी पानी हौ भने
तिमी एउटा लत हौ र मेरिजुआना।