मेरो रक्तिम अभिवादन / कुन्ता शर्मा
टाउकामा कात्रो बाँधेर आफैँले
गगनभेदी स्वरलले हुङ्कार गर्दै
अमूल्य जीवन शिखा प्रज्वलित गर्दै
आँधीहरूसँग आँधीहरूझैँ हुङ्कार गरेर भिड्दै
प्रलयकारी गर्जनहरू निकालेर मोर्चा लिँदै
दौडिरहेका छन् परिवर्तनका पथहरूमा
चक्रवातजस्तो भएर
थाती राखेर मोहक सपनाहरू
उत्सर्ग गरेर अमूल्य जीवन
ती जो निर्भय हाँक्दै छन् समयलाई
उज्यालो परिवेशतिर
ती जो भत्काउँदै छन् जडतालाई
सुन्दर जीवनको तिलाञ्जली दिँदै
ती जोजो कुदिरहेका छन्
परिवर्तनका महासमरहरूमा
बन्दीगृहका पर्खालहरूबाट
मेरो रक्तिम अभिवादन ।
ती जो सिँचेर मुटुको रगत
चुम्दै ढल्दै छन् देशको माटोलाई
ती जो प्रतिशोधले दाह्रा किट्दै
पिउँदै छन् दमनका दावानलहरूलाई
ती परिवर्तनका रक्तिम सूर्यहरूलाई
ती इतिहासका अमर आराध्यहरूलाई
बन्दीगृहका अग्ला पर्खालभित्रबाट
मेरो रक्तिम अभिवादन ।
मेरो चेतना निरन्तर पछ्याउँदै छ
तिनीहरूका सबल पैतालाहरूलाई
मेरा विचारहरू अविरल सघाउँदै छन्
तिनीहरूका सशक्त विचारहरूलाई
तिनीहरूका गगनभेदी स्वरहरूमा
आफ्ना स्वरहरू मिलाउँदै
उनीहरूसँगै आन्दोलित हुँदै छु
उनीहरूसँगै रक्ताम्य हुँदै होमिँदै छु
ती नयाँ युगनिर्माताहरूलाई
बन्दीगृहका अग्ला पर्खालभित्रबाट
मेरो रक्तिम अभिवादन ।
निस्पट्ट अँध्यारो परिवेशमा
जीवनरस सुकाएर घाम झुल्काउन
ती जो हाँक्दै छन् समयका रथहरूलाई
उज्यालो परिवेशतिर
ती जो भत्काउँदै छन् जडतालाई
जीवनको तिलाञ्जली दिँदै
ती वीर सन्ततिहरूलाई
ती युगका धुकधकीहरूलाई
बन्दीगृहका अग्ला पर्खालभित्रबाट
मेरो रक्तिम अभिवादन ।
आमाहरू सल्कँदो मुटु लिएर
उत्रिरहेछन् मैदानहरूमा
बुबाहरू खोसिएका सपनाहरू लिएर
डटिरहेका छन् मोर्चाहरूमा
अखण्ड सौर्य भर्दै मुटुहरूमा
साहस घोल्दै रक्तप्रवाहमा
युवाहरू युवतीहरू कुदिरहेका छन्
हुङ्कार गर्दै निरङ्कुशतालाई
सङ्घर्षका उत्ताल तरङ्गहरूमा
ती सबैसबै अथक योद्धाहरूलाई
बन्दीगृहका अग्ला पर्खालभित्रबाट
मेरो रक्तिम अभिवादन ।
चेतना कहिल्यै बन्दी भएको छ र ?
विचार कहाँ लाचार भएको छ र?
दृढ विचार अनि सबल मनस्थितिसँगै
मेरो चेतना लगातार पछ्र्याइहेको छ
तिनीहरूका गतिशील पैतालाहरूलाई
तिनीहरूसँगै आन्दोलित हुँदै छ
तिनीहरूसँगै रक्ताम्य हुँदै छ
निर्भय मनले तिनीहरूसँगै
महासमरमा होमिँदै छ
परिवर्तनका सूत्रधार
ती अथक योद्धाहरूलाई
बन्दीगृहको साँघुरो परिवेशबाट
मेरो रक्तिम अभिवादन ।