मैले मन पराएको गाँउ / सविता गौतम दाहाल
लालीमय गुराँसले ढकमक्क
कोणीदार सल्लाले सुसज्जित
मैले मन पराएको गाँउ
मलाई बस्न मन लागेको ठाँउ।
मन परेर होला
प्रेममा लडेर होला
समय समयमा नविराई गईरहन्छु
अघाउन्जेल हेरेर सधैं फर्कन्छु ।
फर्कदा सधैं लाग्छ
त्यतै बस्न पाए हुन्थ्यो
गुरासको एक थुंगा सिउरी दिदै
त्यतै कसैले मनपराए हुन्थ्यो
आफ्नो बनाएर घर भित्राए हुन्थ्यो ।
मैले भूतूक्कै मन पराएको नाँउ
संझिसक्दा हुन्छ मलाई
अन्यत्र कतै नजाँउ
अक्षरको खेती गरेर
त्यतै केही नयाँ नौलो प्रयोग गर्दै
अन्नवाली लगाई पसिना बगाँउ।
डाँफेको रंगहरुमा रमाएर
मुनालसँग मितेरी लगाँउ
मन परेको नाँउमा बसेर
सम्पूर्ण सागर सुखको गोता लगाँउ ।
मसँग सिमित साँउ छ
त्यसै गाँउमा लगानी गर्न पाए हुन्थ्यो
इमान्दारिता साथ प्रकृतिको धन
केही आफ्नो ढिकुटीमा भर्न पाए हुन्थ्यो ।
त्यसैले त, फर्कदा सधैं लाग्छ
त्यतै कसैले निर्मल जल
ममाथि बर्षाए हुन्थ्यो
एक जीवनको साथ निभाउने वाचासगै
कसैले मन मसँग भिजाए हुन्थ्यो ।
आफ्नो बनाएर घर भित्राए हुन्थ्यो ।