यसरी म नयाँ ईश्वर भएँ / मौन आवाज
कान नहुनेहरूले
मेरा कानहरू काटेर लगे !
आँखा नहुनेहरूले 
मेरा आँखाहरू झिकेर लगे !
नाक नहुनेहरूले 
मेरो नाक भाँचेर लगे !
टाउको नहुनेहरूले 
मेरो टाउको उखेलेर लगे !
हिँड्न चाहने तर / खुट्टा नहुनेहरूले 
मेरा खुट्टाहरू चुँडालेर लगे !
औंला नहुनेहरूले 
मेरा औंलाहरू लगे !
हात नहुनेहरूले 
मेरा हातहरू लगे !
रौं नहुनेहरूले 
मेरा रौंहरू लगे !
छाला नहुनेहरूले 
मेरो छाला लगे !
मासु नहुनेहरूले 
मेरो मासु लगे !
हड्डी नहुनेहरूले 
मेरो हड्डी लगे !
लगे रगत नहुनेहरूले रगत 
लगे वीर्य नहुनेहरूले वीर्य 
लगे र्याल नहुनेहरूले र्याल !
खकार नहुनेहरूले खकार लगे 
पिप नहुनेहरूले पिप लगे
घाउ नहुनेहरूले घाउ लगे !
दाँत लगे दाँत नहुनेहरूले 
जिब्रो लगे जिब्रो नहुनेहरूले 
मुख लगे मुख नहुनेहरूले !
ओठ नहुनेहरूले 
मेरो ओठ लगे !
घाँटी नहुनेहरूले 
मेरो घाँटी लगे !
भोकाएकाहरूले  
मेरो आन्द्रा भुँडी लगे !
अघाएकाहरूले मेरो मलद्वार लगे !
निस्सासिएकाहरूले  
मेरो श्वास लगे !
कामुकहरूले 
मेरो यौनाङ्ग लगे !
भावुकहरूले 
मेरो सम्वेदनाङ्ग लगे !
जड्हरुले  
मेरो चेतनाङ्ग लगे !
विचार लगे विचार नहुनेहरूले 
भावना लगे भावना नहुनेहरूले 
प्रेम लगे प्रेम नहुनेहरूले !
लगे 
मस्तिष्क नहुनेहरूले मेरो मस्तिष्क !
लगे 
हृदय नहुनेहरूले मेरो हृदय !
बाँकी थियो रुनलाई आँशु 
त्यो पनि मागेर लगे केही नहुनेहरूले ! 
एउटा आत्मा थियो 
एउटा निजत्व थियो 
त्यो पनि तिम्रो होइन भनेर परमात्माहरूले लगे !
यसरी हरेक अंगहरू सकिएपछि 
म बेअंग भएँ !
एकएक गर्दै 
सबै आकारहरू सकिएपछि 
म निराकार भएँ !
यसरी / मपनि ईश्वर जस्तै / नयाँ ईश्वर भएँ !
०००
	
	