यात्रा / हरिभक्त कटुवाल
हिँडिसकेको पथतिर जब म ठिङ्ग उभिई फर्की हेर्छु
नाघिसकेको त्यो पथलाई भव्य-सिन्धुसरि देख्छु
पर्छु अन्योलमा, कसरी मैले नाघेँ होला ती छाल अनेक ?
जलचर नाना, भुमरी लाखौँ सम्झी मलाई लाग्छ उदेक ।
आफ्नो लक्ष्यको एक्लो यात्री विपरीत-मुखी ज्वार हजार
ढलपल डुङ्गा प्रलय-छालमा छैन पाउनु केही आधार
हेर्छु अघिल्तिर देख्छु धमिलो जाँगर मर्छ सम्झी विगत
जाँदा-जाँदै भुमरीबीच परी हुने हो मेरो के हविगत ?
दिग्भ्रान्तझैँ बीच सिन्धुमा शङ्कित मनले धरमर गर्दै
हाँक्न त अझ पनि हाँकिरहेछु जीवन डुङ्गा डुब्दै-बग्दै
बेग्ला-बेग्लै लक्ष्य लिएका डुङ्गा यता-उति देख्छु अनेक
आफ्नै सुरमा हाँकिएका तर मेरो लक्ष्यमा मै छु एक ।
ठान्दछु कहिले स्रोत सँग-सँगै म पनि बगिदिॐ जे जसो पर्ला
सङ्घर्ष पथको कष्ट-यातना सरल गतिमा निशचय टर्ला
विवेक भन्छ- 'सङ्घर्ष हो जीवन, काँतरझैँ तँ भाग्न नखोज !
तेरो लक्ष्यमा सुखद-स्वर्ग छ, आज बरु तँ काँडै रोज !!'
यात्रा प्रतिकूल विकराल स्रोतको, गर्जन भीषण दायाँ-बायाँ
नभ-मण्डलमा बादल लागी एक पल घाम त दुई घडी छायाँ
ढल-पल अविरल जीवन डुङ्गा उर्ली बग्ने छाल अपार
एक्लो छु एक्लै बढिरहुँला खोजी उसैमा जीवन सार ।