भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

रगत सिँच्नेहरू - १ / रेमिका थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमीसँग यस्तो कहानी छ ?
जहाँ पढन्ते युवाहरूको सामुहिक सम्मेलनमा
डिग्रीको प्रमाण-पत्रहरू दाह-संस्कार गरिएको होस्।

फरक देख्यौ के
त्यो भीडलाई सम्बोधन गर्ने प्रतिभावान वक्ताको
अनुहारमा उमेरको लोती झरेको ?

ऊर्जावान कारीगरहरूका डफ्फालाई
राजमार्गमा पुग्नै नदिई
भीरबाट ओह्रालो घचेटिदिएको ?

तिमीसँग यस्तो हेडलाइन छ ?
महत्त्वाकाङ्क्षी विद्यार्थीहरूका अपार जमातलाई
विश्व स्वास्थ्य दिवसको छेक पारेर
गाँजाको अड्डातिर ठोसिदिएको ?
कमसेकम अहिले म तिम्रो कागजी गुलाफको भेटलाई
स्वीकार्ने स्थितिमा छुइनँ
यतिका तल्लो तहको रोमान्टिक भने
म हुन सक्तिनँ।

चिरा परेको औँला
ठेला फुटेर रानीमासु पल्टेको खस्रो हातले
छुइदिऊँ तिमीलाई ?

यो माटो मात्रै गह्नाउने मेरो देहलाई
छुन चाहन्छौ ?
यो स्पर्शले के तिमी रोमाञ्चित हुन सक्छौ ?

के तिमी चाहन्छौ मेरो घरबार होस् ?
के मेरो पैतृक सम्पत्तिको दावी म गरुँ ?
के हामी एउटै टेबलमा बसेर चिया खाने ?
आह सुन्दर !
यो चियामा मेरो ताजा पसीना गह्नाउँछ
तिमी त राष्ट्रीय सम्प्रीतिको नारा घोलेको
ककटेल जाममा मलाई मताइराख्न चाहन्छौ, होइन ?

के सम्प्रीति यति लबस्तरो हुन्छ ?