रोदन (श्लोक ५६ देखि ६६) / नरेन्द्रप्रसाद कुमाईँ
(५६)
पतझड़ नै होस् सिक्रो बोट
उजाड़ उपवन कुसुम – विहीन,
पुतलीको क्षणभरको मेला
नहोस्, रहोस् बरू उदार दीन ।
(५७)
प्रेम नगथ्यौँ जीवनभरि जो
व्यर्थ प्रेमको पाठ सिकायौ,
एउटा मधुर हाँसो-हाँसी
हाई ! उर यो व्यर्थ रूवायौ ।
(५८)
सुप्स मानस जाग्रत पायौ
जाग्रत जब भो आफू भाग्यौ,
नगरी एउटा प्रेमको बात
लघु मानसमा चोट लगायौ ।
(५९)
जो सिकायौ प्रेमको पाठ
त्यसको यस्तो अर्थ लगायौ,
निर्दोषीको लघु-मानसमा
चोट दिनु नै प्रेम बतायौ।
(६०)
शान्त नयनमा खल्बल गर्दै
सुन्दरताको नजर गरायौ,
मानस-पटमा एउटा रेखा
कोरी यादको कता हरायौ?
(६१)
प्रेमपुरको कथा सुनाई
सुखको भारी आश दिलायौ,
एउटा सानो दीप दिएर
अनन्त पथको राह लगायौ ।
(६२)
अलौकिक त्यो रूप देखायौ,
मायाको अह! बन्धन पायौ
पहाडमाथि हात समाती
लगिकन प्रेमको मकन झायौ |
(६३)
मकन बताऊ प्रेयसि, आज
तिमी हौ सत्य वा तिमी हौ झूठ
विश्वासमै केवल अझतक
प्रेम-प्रवाह बग्छ अटूट !
(६४)
मेरो लघु मन-सागरको यो
मधुमय प्यारो प्रेम-तरंग
कहिले-काहीँ चन्द्रको त्यो
सुन्दरतामा पर्दछ दङ्ग ।
(६५)
मिलन औ प्रेम फेरि वियोग
जीवन कस्तो दु:खमय पायौ,
ईश! तिमीले ‘याद’ दिएर
जीवन झन् यो घायल पायौ |
(६६)
विकलताको तुषारपातले
मानस-कमल छ कक्रिरहेको,
अश्रुरूपी तर गहको जलमा
पुष्कर एक छ फक्रिरहेको ।