Last modified on 30 अप्रैल 2021, at 21:34

रोदन (श्लोक ७८ देखि ८८) / नरेन्द्रप्रसाद कुमाईँ

(७८)
अहो! उठ लौ दु:खको बोझ
तेरो दुर्बल काँधमा त्यो,
दुःखको साथी जगमा तेरो
कोही हुँदैन जान यहाँ यो ।

(७९)
व्यर्थै फेरि किन यो क्रन्दन
गर्छस् जगसँग आज कठै यो!
आँखामा होस् आँसु लुकेको
किन्तु ओंठमा तेरो हाँसो ।

(८०)
पुछी अब त्यो दुःखको आँसु
भुल सबै नै अघिको बात,
याद नै मनको कमजोरी हो ।
उठ यो जानी हिम्मतसाथ ।

(८१)
जीवनमा कति कति लाग्दछ चोट
सबले सब ती सहनै पर्छ,
लाग्छ प्रेमको एउटा ठेस
हाई! हरे!! त्यो पथ किन भुल्छ?

(८२)
फुलोस् नभमा सुन्दर चन्द्र
अथवा रात्रि अमावश्याको;
त्योसंग वास्ता नै के? जो यो
बन्दछ कारण तेरो दु:खको?

(८३)
जीवनको यो चौड़ा बाटो
छोड़ी, प्रेमको तुच्छ पथमा
हाल्छस् पग किन, यत्रो दु:ख
सहने, सोच तँ आफै मनमा!

(८४)
नलगा सुखक न झूठा दोष,
तेरो दु:खको कारणको यो,
तेरो दु:ख त दु:ख नै हैन
केवल मनको दुर्बलता हो ।

(८५)
जति-जति भुल्ने कोशिश गर्छ,
उति-उति आफू भूलमा पर्छ,
झन्-झन् बढ़ने त्यसको चहक
यादको रेखा जति-जति मेट्छु ।

(८६)
झन्-झन् गहिरो कालो बादल
मेरो जगमा दु:खको छायो,
भुल्ने कसरी अब त्यो मूर्ति
यादले फेरि तान लगायो ।

(८७)
धूवा आहको आँसुको झरी
पीडाको आह! लपट कराला,
भित्री मनको बेचैनीको
ज्वालामुखीको निस्क्यो ज्वाला ।

(८८)
पीड़ा द्विगुण हुनगो फेरि
चल्यो आँधी दु:खको मनमा,
त्रस्त मानस कस्तो विकल
जीवनको यो भीषण रणमा!