लोग्नेसँग / अबीर खालिङ
पुरानो विचारको सिरक गुम्लुङग ओढेर
मेरो मायाको ब्ल्याकमेल गर्दै
सनातनी विचारले भिजेर मायालु बेड टी सोध्छ
घामले नापेको अकाश हेर्दै
मेरो मायासँग पनि दलाली गर्दै
सुतिबस्छ ऊ उसको हैकमवादी पलङगमा ।
हो
यो त्यही पलङग हो
जहाँ डुबेर मरेका छन् मेरा रहरहरू
मेरा आफ्नापनहरू
मेरा वैंश र सपनाहरू
मेरा नाम,जात,थर र गोत्रहरू ।
मेरो अस्तित्वको साम्राज्यलाई
आफ्ना औपनिवेशिक योजनाले धलिमली गरेर
आफ्नो विजयको धुन बजाइरहन्छ ऊ यही पलङगमा ।
म हरेक बिहान गङ्गा हुनु
मन्दिरको घण्ट बज्नु
भान्सा हुनु
नानीहरूको हतार हुनु/सासु ससुराको तातो चिसो हुनु ।
ऊ फेरि खबरकागजको ताजा खबर हुनु
मर्निग वाक र रमाइलो गफ हुनु।ऊफ!
झिनो यो सासको डोरीमा
किन खेलेको यतिविघ्न पिङ्ग?
किन गरेको यो हवन ?
कुन मोक्षको अभिलाषामा गर्दैछौ यो चीरहरण ?
ऊ दिन दिनै
देवत्वको भरयांग उक्लिनु
म झनझनै
यन्त्र हुनु ।
घरि म दाइजोमा पोलिएँ
घरि चितामा सति गएँ
घरि तीन तलाकको चटयांगमा परें।
मायावी कृष्णहरूको म त मुरलीमात्र भएँ।
खबरदार !
जब मौनताले नाघ्नेछ हिमाल धर्यको
तिम्रो साम्राज्यको जग ढल्नेछ
र गाउनेछौ समवेत गीत।