सङ्गीतमय मृत्यु / अरुणा वैद्य
खसेर भर्खरै टेबलबाट
एउटा गिलासले अचानक
चकनाचुर मृत्यु भोग्नुपर्यो८
एउटा सङ्गीतमय मृत्यु ।
सुनेको मात्र थिएँ
अहल्याले रामको पैतालाको स्पर्शमा मुक्ति पाइन्
आफ्नै वरद हातको स्पर्शमात्रले पनि
भस्मासुर मुक्त भयो
र अहिले देख्नमा पाएँ
एउटा मानिस–हत्केलाको स्पर्शले
एउटा गिलासले मुक्ति पायो ।
र कता–कता लाग्यो
जुन बेला पनि
जोसुकैको पनि
चुम्बन बेपर्दार बेसर्म स्वीकार गर्ने
एउटी महसुर मदमस्त वेश्याले मुक्ति पाइन् ।
उसको मृत्यु
यसरी नै लेखेको रहेछ
आफूलाई सधैँ आतुर च्याप्ने
बलिष्ठ हातबाटै हुनुपर्ने
र उसको अन्त्येष्टि पनि
यस्तै रहेछ
कि सधैँ मायाले उठाउने हातहरूबाट
त्रासको कुचोले बढारिँदै
घृणामा आफलिनुपर्ने ।
आखिर
मृत्युमा पनि मीठो सङ्गीत बज्ने रहेछ
जीवनभर
सबैको
सबै किसिमको
प्यास मेट्दामेट्दै
गिलासले मानिसहरूबाट बेग्लै
एक झङ्कार सङ्गीत जगेर्ना राखेको रहेछ
र आफ्नो मृत्युमा
आँखाहरूमा पीडा फालेर
कानहरूमा मीठो आवाज
आहुति बजाएर गयो
न यसलाई आरोह भन्नु न अवरोह ।
कसलाई के थाहा ?
काँचको सुन्दर जीवन बोक्नुको अर्थ
क्षतविक्षत दुर्घटना सहनु हो,
पारदर्शी चमचमाउँदो शरीर पाउनु
कमजोर आयु भोग्नु हो
अनि काँच हुनु भनेको
होसियार राख्ने शक्ति हो
प्रतिविम्ब उतार्ने क्षमता हो
र काँच आफैमा
जगेर्ना रहेको मीठो सङ्गीत हो।