सहश्राब्दीमा फाटेका आकाश / सन्तोष थेबे
तल पृथ्वीमा
पृथ्वीवासीहरु अचाक्ली गरिरहेछन्
हावामा कालो मोसो पोत्दैछन्
पानीको मुहान नास्दैछन्
धान, मकै, कोदो भट्टिमा लगेर
थरि–थरिका मृत्युका गीतहरु गाइरहेछन्
नानाथरि गरेर आफ्नो दुर्भाग्यको आयु नापिरहेछन्
माथि आकाशमा
घाम अँध्यारो छ
उसको चित्त दुखेजस्तो छ
मैले पनि जिजुबाजेले तापेको घाम देखिन
उनीहरुले बुझेको र पुजेको घाम देखिन ।
रात छिप्पिँदैछ
घरि–घरि जिजुबाजे सम्झन्छु
तल पृथ्वीमा
पृथ्वीवासीहरु अचाक्ली गरिरहेछन्
हावामा कालो मोसो बाक्लिदैछन्
बिहान बोकेर आउने चराहरु हाँगामा प्रणय गाँस्न सकिरहेका छैनन्
जीवन बोकेर आउने पूmलहरु हावामा प्रेम जोड्न सकिरहेका छैनन्
असन्तोषको धोक्रो बोकेर
निदाउन सक्दैनन्
चिच्याउँछन्, कहालिन्छन् जीवात्माहरु
म प्राचिन हिमपात र आँधीमा कठ्याङ्ग्रिन्छु
घरि–घरि डायनोसरको अचाक्ली सम्झिन्छु
युगको अवसान
अवशेष, आदि अन्त्य नानाथरि पढिरहेछु
सहश्राब्दीमा आकाश फाटेर अर्धनग्न भएको छ
सहश्राब्दीमा जमीन सुकेर बगर भएको छ
सहश्राब्दीमा धेरै–धेरै जीवात्माहरुको ‘जिनोसाइड’ भएको छ
तिमी चुप लाग
हामीले आकाशमा छिनो हानेको सत्य हो,
अब ल्याप्चे ठोकौँ
पापमोचन गरौँ, तुरुन्तै............
थाहा छैन, भोलिको घाम उज्यालो होला, नहोला
फाटेको आकाशबाट घाम उदाउला, नउदाउला
बसाइँ सरेर गएका माहुरीका बथानहरु
‘ग्रीन हाउस’ का रासायनिक पूmलहरुमा रमाउला, नरमाउला