भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साग बेच्ने केटी / सन्तोष थेबे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साँगुरीमा हाम्रो सानो घर छ
साँगुरीमा हाम्रो सानो कोठेबारी छ
साँगुरीमा हामी दिनभरिको कामले थाकेर बस्दा
सुस्केरा लाउँदै सहरको मीठा–मीठा कुरा गर्छौँ
साँगुरीमा बस्दा सहर हामीलाई राम्रो लाग्छ ।

सहरमा म
साँगुरीबाट एक डोको साग बेच्न झरेकी
सहरमा म
साँगुरीबाट नुन भुटुन गर्न झरेकी
साँगुरीबाट एक लाछी धागो किन्न झरेकी
मुगलान छिरेको माइतीको खबर गर्न झरेकी
साहुले साग किनिदियो
साहुले धागो किनिदियो
टलक्क टल्किने जस्ताको छानामुनी
सुन्दर सहरको सुन्दर कोठाभित्र
चोलीको तुना चुँडिदियो
निधारको टिका पुछिदियो
सहरलाई हेर्ने सुन्दर आँखाभित्र फुलो पारिदियो

आज नौ महिना पन्ध्र दिन भयो
म डोको लिएर साँगुरी फर्केको छुइनँ
म धागो लिएर साँगुरी फर्केको छुइनँ
आजकल म सहरमा साँगुरी सम्झँदै नुनिलो आँसु पिउने गर्छु
मुगलान छिरेको माइतीले झ्वाट्ट देख्छ भनेर तर्कने गर्छु

सहरमा म एक्लो छु
सहरमा म गन्हाउन थालेकी छु
पुलिस मलाई देखिसक्दैन
स्कुले केटाहरु बीस रुपेमा जिस्कन्छन्
सहर मलाई असारे काँढाजस्तो बिझाउँछ
साँगुरीमा नुनिलो पसिना पिउँथे
सहरमा नुनिलो आँसु पिउँछु
नुनसितको यो गहिरो सम्बन्ध
साँगुरीमा उड्ने कुहिरोका चीसा प्वाँखहरुले देलान्
सहरमा टल्कने जस्ताका ताता छानाहरुले देलान्

मैले साँगुरी छाडेको पनि निकै भएछ
म भर्खरै सहर चिन्दैछु
सहरमा ब्यापारीहरु बस्दा रहेछन्
सहरमा भाडा पाइँदोरहेछन्
सहरमा म भाडामा छु
आजदेखि मैले पनि
रातभरि माडिएको च्यादर
घामतिर फर्काएर सुकाउन थालेको छु
मैले पनि भाडाको सहरमा ब्यापार गर्न थालेको छु
बाटा बिराएका परदेशीहरु
दुःखी अतृप्त आत्माहरु
सङ्कोच मान्दै ढोका ढप्काउँछन्
ईजार खोल्छन्
र खाटमाथिको सिरकभित्र डुबुल्कि मार्छन्

मुगलान छिरेको माइती राजा
तिमीलाई मेरो कसम छ
सहरमा बास नबस्नु
अलिकति हिम्मत गर्यौ भने
तिमी सजिलै साँगुरीको उकालो चढ्न सक्छौ
तिमी सजिलै चेलीको खबर पाउन सक्छौँ