Last modified on 23 फ़रवरी 2022, at 13:59

स्वदेशको संग्रेलो / माधवप्रसाद घिमिरे

नेपाली जन हूँ, म खालि दुखले फ्याँकेर आएँ यहाँ
छन् आमा शिरमा लिई हिमचुली रोईरहेकी वहाँ
त्यो खोला, वन, खेत, त्यो चहुर, त्यो पाहाड कस्तो भयो
स्वप्ना देख्छ उही, छ वर्षअघिको नेपाल कस्तो भयो

अग्लो उत्तरमा खुली हिमचुली बग्छिन् नदी दक्खिन
डुल्छन् घाम-सियाल नित्य, हरिया छन् खेत, पाखा, वन
मेलापात गरेर दाजु-बहिनी बस्छन् बिसौनामहाँ
मेरो देश रमाइलो र हँसिलो ए आज होला कहाँ

कोल्टो देश छ एक, शान्ति-सुखको पोल्टो फुकेको सरि
छोई उच्च हिमाललाइ भुइँमा स्वगै झुकेको सरि
छन् पाखा-वन पार्वती र शिवको छाया परेका त्यहाँ
छन् मान्छे बलिया परिश्रम गरी, सोझा र राम्रा त्यहाँ

राम्रो लाग्छ मलाइ ता हिमचुली आकाश नीलो छुने
नेपाली अनुहार घाम-जलमा पाकेर रातो हुने
गाएको वन-छाहरीमनि बसी मीठो छ वोली हकि !
गालामा पसिना, पियार दिलमा पाहाडिया जिन्दगी

नौला बैंस चढे हुनन् वदनमा मुस्कान हाली नयाँ
नौला गीत चलेर खेत-वनमा भाका फिर्‍यो हो नयाँ
आयो हो अब गाइने समयको सम्चार बोकीकन
गायो हो सुख-दुःख गाउँ-घरका सारा मिसाईकन

पाकी काफल, किम्बु- काफल वनै बास्ना चलेको सब
राम्रा चाड दशैं-तिहारहरुका, आनन्दका उत्सव
आमाको ममता र भाइहरुको आधार सम्झन्छु म
छायामन्तिर शान्त स्निग्ध दिलको संसार सम्झन्छु म

आए हुन् वनबाट धेनु सुनको धूलो उडाईकन
सारा झ्याउँकिरी किनार-वनमा बासे हुनन् रुन्झुन
हेर्दा हुन् घरका जहान परको आशा लगाईकन
'निर्मोही परदेशमैं छ' भन हे तारा ! उदाईकन
 
सन्ध्याकाल जलाइ एक घिउको बत्ती मलाई पनि
आमा रातभरी बसेर रुँदिहुन् 'आएन नानी' भनी
आए तीन सरे परन्तु दिलको आएन साथी भनी
ती मेरी दिलदार बैंस रुँदिहुन् नौलाख तारामनि

खोज्दा हुन् झरना मलाइ वनमा पाहाडदेखिन् बढी
मैं लाई अब हेर्दिहन् हिमचुली अट्टालिकामा चढी
सोध्दो हो कति क्वैलि वन्य पथमा “को हो" कि “को हो” भनी
फर्की फेरि म जाउँला नि कहिले पाहाड-छायामनि

मैले पस्नु छ देशभित्र चिडिया बास्ने कुनै साँझमा
मैले बस्नु छ भाइ-बन्धहरुकै आधारको माझमा
मेरो हंस उडेर जा रहरको कैलाश ताकीकन
आमा ! आखिर काखमैं घुमिफिरी आएँ म थाकीकन ।