भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
हराएको अनुहार/ गोविन्द गिरी प्रेरणा
Kavita Kosh से
बालककालदेखि नै
आफ्नो अनुहार हेर्ने गरेको
ऐनामा
आफ्नै सासको बाफले
ढाकिदिएपछि
मैले आफ्नो अनुहार
क्रमशः धमिलो बन्दै गएको देखेँ
आफ्नो अनुहार आफ्नै कारणले
छेकिएको पाएँ ।
म छाम्न थालेँ आफ्नो अनुहार
त्यो ऐनाको सतहमा
तर त्यहाँ त मेरै मुखबाट निस्केको
सासको बाफको बादल थियो
त्यो बादलको ओसको पर्खाल थियो ।
मैले आफ्नो बाहुलाको फेरले
हतार–हतार पुछेँ ऐना र
खोज्न थालेँ
आफ्नो साबुत अनुहार ।
भर्खरै हराएको मेरो अनुहार
ऐनामा यथावत् थियो
म मुसुक्क हाँसेँ आफूलाई पाएर
ऐनाको प्रतिविम्ब पनि हाँस्यो उस्तरी नै ।