हराएको अनुहार / प्रवीण राई 'जुमेली'
सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ
बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन
जबरजस्ती ठेल्दै लगेपछि म-ले
बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ
तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ
उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ
म नै-म हुनुका बोधहरुले
सास फेर्न मात्र पनि धौधौ छ यहाँ
झ्याल-ढोकाविहीन कोठाभित्र थुनिएको कैदी म-लाई
चेखबको क्लर्क बाजीगरबाट उन्मुक्त म मर्दै जान्छु कोठाभित्रै
एउटा पराजित जीत लिएर एकदिन उन्मुक्तिको सुख आउनेछ
त्यो दुःस्वप्न छैन मसित
म नै चेखब हूँ म-लाई कैदी बनाउने
व्यर्थ छन् मेरा आँखाका दुर्बल प्रयासहरु मात्र समयको गति छाम्नलाई
त्यो अग्लो र सानो झ्यालबाट छिरेर आउने हरेक उज्यालोहरु हेरेर
त्यो सानो झ्यालबाट देखिने एक टुक्रा आकास
त्यति नै हो सम्वेदनाको मूक हात पनि
वितृष्णाका यी घाउहरु मुसारिरहने
कति कति हिंडाइसकेको छु तृषित सपनालाई
यो कोठा र त्यो आकाससम्मको दुरीभित्र
त्यो दुरीभित्र हिंडाइसकेको छु सपनाहरुलाई कति कति
तर पनि म-लाई तानेर आकाससम्म पुरयाउन नसकेका
ती बुढा सपनाहरु अचेल मृत्यु कुरिरहेछन् कोठाभित्रै
बाहिरका अश्लील खित्काहरु पनि कहिले छिरेर यो कोठासम्म आइदिन्छन्
कान थुनिइन्छु मभित्रका पर्खालहरुले
कति दुर्गन्धित भइसक्यो कोठा घृणाको वान्ता छरिएर भुईंभरि
निस्चय नै मरिसकेको हुनपर्छ अब त कुक्कुका आवाजहरु
म-लाई लुटेर जाने ती खित्काहरुमुनि चेप्टिएर
छिः एउटा अन्तहीन यन्त्रणा बाँच्नलाई बाध्य गराउँछन् ’em
त्यो सानो झ्यालबाट पेन्सिलका टुक्रा फेंकिदिएर सधैं
टुक्रा पेन्सिल समाएको दुर्बल म-
अझ अरु यन्त्रणा बाँच्नलाई बाध्य बनिदिन्छ
सुनसान कोठाको चिसो भुईंमा निस्सहाय म-ले
अलिपर बसेर बाँचिरहेको म-लाई हेरिरन्छ
हेरिरहन्छ म-लाई बाँचिरहेको।।।