०९ अप्रेल '०८ / रेमिका थापा
म खडा भएर तिम्रो आकाशको विस्तार नाप्न
हिँडेको छोरो
तिनीहरूले मेरो कठालो समातेर घोक्राए
उँधोमुण्टो पारेर झुण्डाए
भुइँमा पछारेर बूटैबूटले कुल्चिए।
मध्यान्हको रक्ताम्मे पाकेको घाम
गिद्धको नङ्ग्रा फिँजाएर
खाऊँ-खाऊँ गर्दै राल चुहाइरह्यो ।
तिनीहरूले भए जति बलले मेरो नसो निचोरे
पानी झर्ला कि ?
रातै रातै घोप्टियो हेर
यसबेला मैले छर्लङ्गै देखेँ
व्यवस्थाको बीभत्स वेश्याचरण ।
सेतो विज्ञापनको भरमा
दरिद्र देहव्यापारमा लागिपरेका
लोकतन्त्रका भद्र सुरक्षाकर्मीहरू ।
मैले यहीँनेर देखेँ शोकेसमा सजाइराखेका
व्यवस्थाका सुकिला अनुहारहरू
कुहेर भकाभक झरेका
र दिउँसै वाकवाकती छाद्दै हिँड्ने
चुँडेल पिठयूँहरू ।
तिनीहरूले मलाई नाङ्गै भुतुङ्गै झुण्डाइदिए
सार्वजनिक सडकको थाँक्रोमा
मेरो जिउँदो कलेजोको एक एक टुक्रा
झीरले झिक्दै खानदानी सरकारी रक्सीसित कपाकप खाए
नपुगेर मेरो आँखाको रातो आँसुलाई समेत
बन्दुकको नालमा सारेर चपचप पिइदिए
समयको सङ्घारमा ठेस लागेर
छताछुल्लै फुटेको छ
बेइमानको दुइ नम्बरी घैटो
संसारको खुल्ला मञ्चमा घोप्टिएको छ
मेरो रगतको फाल्सा ।
नपुछ्नु, नधुनु तिम्रो पछ्यौरी
बरू अझै झाक्रो फिँजाएर बस
दुनियाँको खुल्ला अदालतमा
मान्छेको रगतको अन्तर्राष्ट्रिय सङ्गोष्ठी
भेट्न मेरो रातो रातो फाल्सा
पुगिसकेको छ।
कति दिन हुन्छ
बूढो बुचडखानामा
मेरो रगतको उत्सव !