भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आइमाई / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:12, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कुनै समय–
पुतली, फूल, प्रभात
चरा, बतास, इन्द्रेणी
र, ऊ सङ्गी थिए

हिउँ, झरी, जुहारी
र केटा–साथीहरू
स्कुल, गोरेटो, साँझ
र दहको ऐना थपिए क्रमशः

वि.सं.२०५९ साल माघ १ गते
ऊ १६ वर्षकी भई–
पोहोर यही दिन उसकी दिदीको बिहे भएको थियो
आफूजत्रै घाँसको भारीमा अडेसिएर उसले
भर्खरै उडेको जहाजले दुई टुक्रा बनाएको आकाश हेरी
टाढा–टाढासम्म फैलिएको शून्यता
सपनाको हरियो
र गुलियो एकान्त हेरी
अघिल्तिरको पैयुँको कलिलो रुख
जो फुल्नेछ भोलि
–उसले हेरी ।
 
उसले आफू उभिएको बूढो भुइँ हेरी
देखी उसले आफ्नै कसिलो स्तन
सम्झी उसले तीन विशेष अनुहार
पहिलो, उसकै बाबु
जसले यस्तै कुनै समय (सायद ऊ १५ वषलाग्दै थिई)
उसका छरिएका केशराशी बटुल्दै
ठूली भएकी/छोरीको कर्तव्य/सांसारिक मायामोह/पराईघर
र जीवनका बारे धेरैबेर सम्झाएका थिए
जब ऊ स्नेहले रोएकी थिई
उसका स्तनमा अल्झिएका आँसुका अनगिन्ती कमला थोपाहरू
बाबुका खस्रा हातहरूले सजिलै पुछेका थिए

दोस्रो, उसको महान् शिक्षक (जो मारिए केही समयअघि)
तर उसले बुझेकी छ–
यो पृथिवी उसको स्तनजस्तै गोलो छ ।
सरका औँला, डस्टर, चक
र नोटबुकले बारम्बार देखाएको पृथिवी
–केही हुर्किएछ
उसले हेरिरही ।

र तेस्रो, आफ्नै गोठको रहरलाग्दो बहर
जो, घाँस लाउँदा, दूध दुहुँदा, गोबर सोहोर्दा
बारम्बार मुख उसको स्तनमा जोत्छ
–ऊ मुसुक्क मँसीहा ।

१६ वर्षको पहिलो दिन
आज उसले आफूलाई धेरैबेर हेरिरही
खोइ कहाँ गए ती–
पुतली, फूल, प्रभात,
चरा, बतास, इन्द्रेणी...?
 
उसले खोजी सर्वत्र...
खोइ कहाँ गए ती–
भुइँकुहिरो, जुहारी गीत
र केटा–साथीहरू...?

१६ वर्षको पहिलो दिन
आज उसले देखी टाढा एउटा गम्भीर पहाड
जसले–
मात्र उसको आँखाको गहिरो
उसको मात्र आँखाको गहिरो
उसको आँखाको मात्र गहिरो
एकटकले हेरिरहेको छ
उसले अँगाली– त्यो पहाडलाई
म्वाइँ खाई– त्यो पहाडलाई
भिजाई तातो आँसुले– पहाडको त्यो बाक्लो छातीलाई
किनकी–
आज ऊ आइमाई भई– तेस्रो मुलुककी ।