भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग ५ / बालकृष्ण सम

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:15, 24 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

निष्ठुर मानवजातिको निम्ति
ढुङ्गा पनि कोमल ठहरियो,
अनि उसको हृदयसुहाउँदो फलामे घाउ
पृथ्वीबाट टुसायो,
काँढा जस्तै शूलीको आडमा लूट फुल्यो,
पात जस्तै भालाको आडमा अत्याचार फल्यो,
भोको क्रोधले कपाल सल्केका मानिस
सारा चिराग बनी उठे।
घोडाहरू त्यै अग्निशिखा आफ्ना पीठमा बोकेर
उड्दै दौडे धूलो–धुँवा कोसौं पछाडि छोडेर।
बज्र झैँ हिनहिनावट गर्ने घोडालाई ऐंडी मार्दै
अग्निमय मुस्लो त्यो मानिसको
गाउँगाउँमा नगर नगरमा
पोलिँदै भोगका साधनहरू खोस्तै
अग्न्यास्त्र जस्तै धनुष्काण खड्ग खुकुरी घुमाउँदै
नरमुण्डलाई मुठार्दै छिमल्दै
अवशेष रहेका जातिलाई
भस्मावशेष गरी पार भयो।
आमा स्वास्नी छोरी हरिएका आबाल वृद्धवियोगीका
पति पुत्र पिता सब मारिएका विधवा वियोगिनी टुहुराका
आँसुका पिरा नुनिला खोलाले –
घाइतेका रगतका झरनाले –
मर्नेहरूका रक्त कमलले
आर्तनादलाई आद्र्र बनाई
वीरत्वमा विक्षिप्त भएका
यारिसिराइहरूको आगो
मिस्रीहरूको आगो
आर्यहरूको आगो
यस्तै चिनीहरूको आगो
भरभर भएको गोलजस्तै मङ्गोलहरूको आगो
निभाउन सेचन गर्दागर्दै यतिका वर्ष
असफलताले खेरो फाले,
तर आदिकालको परमाणु अग्नि
पानीमाथि प्रतिघात गर्ने
दाउ अभैm हेरिरहेछ।
जल जलामय पारी प्रतिशोध गर्न अर्कै दाउ हेरिरहेछ।
प्राचीनकालमा साम्राज्यवादले
दामल गरिएका देशहरू
मानिसका हाडले पोलिएका
ईंटका पर्खाल यथास्थिति राखी
व्यर्थै साम्राज्यवादको विरुद्ध चर्चा चलाउँछन्,
मासु खाई अघाएपछि अर्का भोक नजागुञ्जेलको
समयभित्र जल मात्र पिइकन
बाघ अहिंसा व्रत लिन्छन्।

क्रमश: अगाडि