भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग ८ / बालकृष्ण सम

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:17, 24 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

त्यस समयमा एउटा मानिसले
नेपाल हिमालको फेदीमा
कमलपत्रको तुषारविन्दु झैँ
पवित्र भईकन जन्म लिए!
‘ज्ञानान्मुक्ति’ ‘बन्धोविपर्ययात्’
‘ईश्वरासिद्धे’ भनी कराउने
कपिलमुनिको कपिलवस्तुमा
उनकै दर्शनले जीउ हाले झैँ –
नैराश्यमा आश्वासन झैँ –
मदान्धकार संसारको पाटीमा
बिजुलीले अक्षर पङ्क्ति कोरे झैँ –
हर्षको हिलोमा समवेदनाको पद्म झैँ
गौतम बुद्ध फुले।
हिमालयको वातावरणले
उनको रगतको आगो जति
झिकी नसानसामा केवल
पानी –
अमृत मात्रै राख्यो।
कहिल्यै नपग्लने हिउँको टुक्रो झैँ –
एकचोटि ती सर्वार्थसिद्ध जमे।
ती संसारका प्रथम महात्मा
आगैआगो भएको विश्व
देखी फेरि पग्लन थाले,
लोकहितार्थ ती रुन लागे,
उनका आँशु सिन्धु भै उल्र्यो,
त्यसले नेपाल, भारत, भोट, चीन, जापान,
बर्मा, लङ्कालाई ढाक्यो,
त्यो संसारभर फैलिंदै थियो,
बुद्ध धर्म सङ्घको
स्वयं मुहान सुक्यो।

क्रमश: अगाडि