भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा निजी कविता सिल्भियाको नाममा / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:01, 25 जून 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


जीवन त जसरी पनि चल्दोरहेछ
कसैको प्रेममाजस्तै अभाव र वियोगमा पनि
चीसा हिउँदहरु आए कैयन, संझनाको न्यानो घाम तापेर बसें,
र कैयन चैते हुरीहरुमा सुकेको पातजस्तो भएर उडिरहयो मन
झरी फाटेको दिन वर्खान्तमा सुकाएँ
तिमीले उपहारमा दिएका विश्वप्रसिद्ध व्यक्तिका आत्मकथाले भरिएका पुस्तक
र जन्मदिनको उपहारमा दिएका कपडाहरु

बर्खाको तलाउ देख्छु आँसुले भरिएका तिम्रा आँखा र त्यो क्षण संझिन्छु
उकालोको एक्लो वृक्ष देख्छु र टाढा कतै प्रतिक्षारत तिमी उभिइरहेको संझिन्छु
जब देख्छु यात्रामा कतै समुन्द्र तिम्रो विश्वास र तिमी हुनुको आभास संझिन्छु

छुट्टिएर पनि छुट्टिनै सकिनँ म
बतासको झोकालाई तिम्रो लामो निश्वास संझिन्छु
तिम्रो चञ्चलता र खित्कालाई विहानको प्रकाश संझिन्छु
जीवनमा यती ठूलो आघात सहेर पनि दुख्यो सम्म भन्न सकिनँ मैले
छातीभित्र निरन्तर गइरहे पनि भूइचालोका धक्काहरु
म मौन, शान्त, एकदमै निस्पतहजस्तो भइरहेँ
अहो ! करौडौं मानिसहरुवीच
कसैलाई थाहा हुनेछैन एउटा अदभुत कथा !

फुर्सदको समय ढोका थुनेर एक्लै कहिलेकाही
कल्पिन्छु, र दोहर्‍याउछु समयका हिसाब किताब
के मिल्दैन के मिल्दैन
यसो गरेको भए हुने रहेछ भन्छु त्यसो भनेको भए हुने रहेछ भन्छु
उस्तै छ पहिलोपल्ट भेट भएको ठाउँ
उस्तै छन् बाटाहरु र मानिसको चहल पहल
मात्र तिम्रो अनुपस्थितिको अध्यारोमा हराउछन् सबै रङहरु,

सुन पग्लिएर लत्पतिएझै मुस्काइरहन्छन् सुनौला घाममा डाडाँहरु
मन्दिरमा बजिरहन्छ घण्टाहरुको ध्वनी र घस्रिरहन्छ चिप्लेकिराझै समय
म भने हराइरहन्छु प्रश्नहरुको चारकोसे झाडीमा

अविस्मरणीय एउटा गर्भवतीले साँझले
जन्माउला भनेको थिएँ सुन्दर विहान !
किन चल्यो हुरी अचानक र उडायो गुँड ?
किन खस्यो असिना र झार्‍यो गुलाफका पत्रहरु भूइमा ?
किन खस्यो चट्याङ र भत्कायो गरीबको छाना ?
जीवनमा कति अर्थपूर्ण छ कुनै मानिसको अभाव वा उपस्थिती !
बर्षाैदेखि तिमीलाई पर्खिरहेका बाटाहरुमा नहिडेर गयौ तिमी

एउटा पुरानो किताबका पाना यसै पल्टाउदै थिए साँझमा
सकिसकेको फूल देखेर
सिल्भीया, तिम्रो संझना ताजा भएर आयो आज !!