भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा मोडमा उभिएर / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:23, 16 मार्च 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

त्यही मोडमा आइपुगेको छु फेरि
जहाँबाट छुटेका थियौं हामी
गह्रौं पाइलाहरू लिएर दुई फरक दिशातिर,

अझै चियाइरहेछन् मलाई एकान्तमा
भिजेका केही नांगा आँखाहरूले !

मैले मेटिदिएको थिएँ आफैंले लेखेका अक्षरहरू
परित्याग गरेको थिएँ सम्पूर्ण मोहसत्ता
गला घोटिदिएको थिएँ निर्मम भएर
जर्जर मेरा नवजात इच्छाहरूको,
 
मैले कहिल्यै नफर्किने वाचा गरेको थिएँ
यो भीडमा
जहाँ यौवन लुटिएका अबोध युवतीहरू
समूहको पछिल्तिर बसेर बजाइरहन्छन् ताली
र मञ्चमा कुर्लिरहन्छ उही क्रुर नायक

जहाँ, हेर्दाहेर्दै निरंकुश हातहरू
हत्या गर्छन् सुदूर भविष्यहरूको
र केही होनहार युवा वैज्ञानिकहरू
पलायन हुन्छन्
निरास भएर अनकण्टार गाउँतिर,

यी भीडहरूसँग असम्बद्ध हुन्छु भनेको थिएँ
जहाँ भित्रभित्रै फुटेर मुटु
रक्ताम्य हुँदा पनि
‘आह’ भन्न सक्दैन मान्छे
तर ढुंगाको मूर्तिलाई
झुकेर हजारौं सलाम गर्छ ऊ

कविताको मूल्य नहुने
मान्यता र आदर्शहरू हराएको यो सहरमा
प्रेम र हार्दिकता मेटिएको यो सहरमा
फेरि पाइला टेक्दिनँ भनेको थिएँ,

भीडहरूबाट भाग्नुको अर्थ
आफैंबाट भाग्नु हुँदोरहेछ
दु:खबाट पलायन हुन खोज्नुको अर्थ
जीवनबाट तर्किन खोज्नु हुँदोरहेछ
मान्छे भएर जन्मेपछि
असल–खराब
स्वप्न–दुःस्वप्नले घेरिएर
भीडमै बाँच्नुपर्दो रहेछ !

भाँचिएको मन जोडेर फेरि आएको छु
कुनै युद्धको घोषणा गर्न,
फेरि सच्याउँछु आफैंले मेटेका अक्षरहरू
र सुरुवात गर्छु अन्त्यहीन संघर्षको,

सम्बोधन गर्छु त्यो भीडलाई
फर्काऊ हाम्रो आत्मसम्मान र स्वाभिमानको जिन्दगी–
त्यहीँनेर
पसिनालाई दुर्गन्धित मान्नेलाई भन्नु छ
हाम्रो रगतको नदीका किनारमा छन्
तिम्रा भव्य महलहरू
हाम्रो पसिनाको कुलोले सिञ्चित छन्
तिम्रा सुखद क्षणहरूका बिरुवा

मात्र एउटा भोटमा अवमूल्यन भइरहेको
मान्छेको अस्मितालाई
फेरि झन्डा बनाउनु छ गौरवको !

शुभयात्रा ! शुभकामना छ मलाई मेरो
फेरि हिँड्नु छ मैले
आँखाअघि लम्पसार सुतेको यो रातो बाटो ।