भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक युवतीको प्राप्ति / गोविन्द वर्तमान

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सँगसँगै फेला परेका छन्
नयाँ पुस्तक र नयाँ प्रेमी
म दुवैसँग अनुरक्त छु।

पुस्तकहरूको संसारमा
करोडौँ पुस्तकहरूमध्ये एक
मैले फेला पारेको पुस्तक
मेरो जीवनमा कति सहायक हुनेछ
मूर्खताको वरिपरि रहेको मलाई
अहँ, पटक्कै अनुमान छैन ।

प्रेमको परिभाषा विविध भइरहेको संसारमा
तथापि प्रेम स्वयम् परिभाषाहरूबाट भागिरहेको संसारमा
पुस्तकसँगै फेला परेको प्रेमीलाई
कविताको भाषामा
अग्लो भीरमा फुलेको फूल भन्न सकिन्छ
औँसीको अन्धकारमा बलेको मैनबत्ती भन्न सकिन्छ
दिक्दारीहरूको बीचमा आइपुगेको
सुखद समाचार भन्न सकिन्छ
अथवा थकाइहरूको बीचमा फेला परेको
विश्राम भन्न सकिन्छ
मुस्किलले फेला परेको यस्तो प्रेमी
क्रोध र घृणाको विकट पर्यावरणमा
मेरा दुर्बलताहरूविरुद्ध कति शक्तिशाली हुनेछ
अहँ, मलाई पटक्कै अनुमान छैन ।
 
सहस्र ज्ञानहरूको सागरमा
एक चम्चा पानीमात्र हो कि होइन
फेला परेको पुस्तक पल्टाएर
अलमलिइरहेको छु म
लगातार मरिरहेको मानिसलाई बाँच्न सिकाउने
कला हो कि होइन
फेला परेको पुस्तक पल्टाएर
हेरिरहेको छु म
मेरा अलमल र निरीक्षणहरूका बीचमा
मेरो नजिकै उभिएको नयाँ प्रेमी
आफ्ना कामुक इच्छाहरूलाई निजीकरण गरेर
मसँग उदारवादको याचना गर्दैछ ।

गएको शताब्दीमा जस्तो
यो शताब्दीमा
आँखा झिम्क्याएर बाटिने मनको डोरीजस्तो नभएर
विश्वकरण हुँदै गएछ प्रेम
र इन्टरनेटमा उदाउन थालेछन्
मायाका सहस्र बान्कीहरू
तिनैमध्ये एउटा बान्की लिएर
नयाँ प्रेमी मसमक्ष आइपुगेको छ
उसको उपस्थितिको आभास
फ्रेन्च परफ्युमझैँ लाग्दैछ मलाई
म बिस्तारै भयभीत हुँदै छु
किनभने मेरो बुद्धिको पाठेघरमा
प्रेम होइन प्रतिहिंसाले प्रवेश गर्दैछ ।

जेठको गर्मीमा धापिएका ढाक्रेहरूका निम्ति
रूखको सियाँलजस्तो प्रेम
नयाँ प्रेमीको ह्दयबाट
उहिल्यै विनाश भइसकेछ
प्रेमीका आँखामा बलिरहेको
अतिरिक्त मुनाफाको मुस्लो हेर्दै
म नयाँ सत्यसँग भेटघाट गर्दै छु ।
 
नयाँ पुस्तक र नयाँ प्रेमीसँगको भेट
दुवै भेटहरूमा भेटिएको
नयाँ सत्यसँगको भेट
नयाँ सत्यसँग भएको भेटघाट
मस्तिष्कमा उदाएको
नयाँ चेतनासँगको भेट
सबै भेटहरूबाट भेटिएको
मभित्रै जन्मिएर मभित्रै भेटिएको
नयाँ मानिससँगको भेट
अथवा मेरै प्रतिरूपसँगको भेट
मेरै अवतारसँगको भेट
बृहत् प्राप्ति हो मेरो
यही प्राप्तिबाट पुलपुलिएर
म नयाँ पुस्तकलाई प्रेम गरिरहेको छु
र नयाँ प्रेमीलाई
पुस्तकझैँ पढिरहेको छु ।