भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँ / विमल निभा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:06, 25 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल निभा |अनुवादक= |संग्रह= }} {{KKCatKav...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो गाउँको नाम रामगढवा हो
यहाँ एक दिन बिताउने मौका पायौं भने
तिमीलाई थहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कत्ति समानता छ ?

सखारै यो गाउँ बिउँझन्छ
खेतमा जान्छ
हलो चलाउँछ
माटो सम्याउँछ
थाकेको गोरुलाई माया गर्छ
र गीत गाउँछ
‘जोवनवा हमरा बीत गइल हो…!’

दिनभरि कडा मेहनत गरेर
जब पेटभरि खान पाइँदैन तब
तिमीलाई थाहा हुनेछ
खेतमा थाकेको गोरुलाई माया गर्दै
गाइने गीतको अर्थ के हो ?

राती यो गाउँ एक ठाउँमा भेला हुन्छ
कहिले चोकटाकहाँ
कहिले बगडाभाइकहाँ
कहिले मखनाकाकाकहाँ
घुर ताप्छ
कुराकानी गर्छ
पानी परेन
बाली सप्रेन
बूढो साहू मरेन
परालको आगो तापेर एक रात
यहाँ बिताउने मौका पायौ भने
तिमीलाई थाहा हुनेछ
ब्याजको दर र बूढो साहूको लामो आयु
दुवै कत्ति दुःखदायी छ !

तिमी रामगढवामा एक रात जरुर बिताऊ
घर–आँगनमा डुल
खेत–खलियानमा जाऊ
र यहाँका मानिसहरूसँग भेट
तिमीलाई थाहा हुनेछ
यो गाउँ र सुक्खाले खाएको खेतमा
कति समानता छ ?