भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन कुन दिन जाने हो ? / ध्रुव दवाडी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

देख्दा देख्दै थाह नपाई दौडिरहेको दुनियाँमा
दिन पनि बदल्यो, मै पनि बदलें, बदले कति यस जीवनमा !
लहलह हरिया पात झुलेका टाढा-टाढा ती वनमा,
फाँटहरूमा, गिरिमा देख्तछु परिवर्तित के-के घटना।
काम नलागी एक कुनामा थन्किरहेको यो जीवन
बाँच्तिनँ भन्दा-भन्दै खोजिरहेको परिवर्तन ।
उकुसमुकुस भै पर्खी-पर्खी जिङ्‌रिसकेका आकांक्षा
उत्सुकतामा तङ्‌रिन खोजी झुल्छन् बिच-बिच आशामा ।
रिङटा रोक्ने तागत नहुँदा यी ढुनमुनिदै लड्दैछन्
मनको मनमै लत्री-लत्री दिन-दिन सुक्तै जाँदैछन् ।

थरथर काम्ने जीवन फितलो होइन मेरो होइन है,
न त म हुँ बलियो स्वस्थ निरोगी लड्ने बलियासंग कठै !
रोग मलाई कस्तो लागी पार्‍यो हविगत यो मेरो,
सहँदा-सहँदै यस्तै रितले जीवन कुन दिन जाने हो?

................................
भारती, २|१, असार २००७