भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पर्खाइ... / सिद्धराज पुजारी / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:56, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सिद्धराज पुजारी |अनुवादक=सुमन पो...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बालाई पर्खिँदै
सुत्यौँ हामी भत्किन लागेको सानो झुप्रोमा,
माथि चम्किरहेका तारालाई चियाउँदै।
मधुरो हुँदै गयो र निभ्यो
बल्दै गरेको टुकीको पातलो ज्वाला।

हामीलाई
रातले सुनाउँछ लोरी
गहिरो निद्रालाई अँगालो हालेर
निद्रामै आह्लादित हुन्छौँ हामी –
मनमोहक सपनामा एकोहोरिएर ।

निकै रात परेपछि-
जब बु फर्किनु हुन्छ फ्याक्टरीबाट,
सधैँ नै, स्वप्नमय सम्मोहनको काखमा हुन्छौँ हामी
त्यसैले, हामी सुन्दैनौँ वहाँको थकित पाइलाका चाल ।

उज्यालो हुँदा
आफ्नो नियमित कामका लागि
फ्याक्टरी गइसकेको हुनुहुन्छ वहाँ
र दु:खी हुन्छौँ हामी ।

राती
हामीलाई सुम्सुम्याउनु भएको हुनुपर्छ बाले
जसको साक्षी हाम्री आमा हुनुहुन्छ
र सबै बताउनु हुन्छ आमा
बाको मायालु स्वभावका बारेमा ।

वहाँका खस्रा हत्केलाको आनन्ददायी स्पर्श
हाम्रा गालामा अङ्कित वहाँको म्वाईको छाप
सबै मेटिएर गए ।

एक दिन, जब
मजदुर हडतालले फ्याक्टरी बन्द गरायो,
सबैका बीचमा बसेर
थकित शरीरका साथ हामीसँग खेल्नुभो’ बाले ।
माया र व्यग्रताले भरिएर
नियालेर हेर्नु भयो हाम्रा आँखामा।
र मुस्काउनु भयो वरिपरिको मौनतालाई बुझेर,
अथवा वहाँ पनि हँसाइका बारेमा जान्नुहन्थ्यो ।

ओहो!कसैले वहाँको रगत चुसेको छ ।.
अदम्य साहस धड्किरहेको छ
अस्तिपञ्जर मात्र बाँकी राखिएको वहाँको शरीरभित्र।
वहाँको शरीर छोएर अँगालो हाल्न मन छैन हामीलाई ।
(त्यसले वहाँको शरीरमा दुखाउनेछ)
छेउमा बस्छौँ मात्र हामी -
उदास नजरले हेर्दै वहाँलाई ।

हामी वहाँलाई केही सोद्दैछौँ भन्ने ठान्नु भएको हुनुपर्छ बाले ‍-
वहाँको मुहारमा
सलबलाइरहेछन् चिन्ता, उदासी र लाचारीका रेखाहरू ।

वहाँका हातले
जब सुस्तरी सुम्सुम्याउँछन् हाम्रा टाउकामा,
जब हाम्रा गाला मुसार्दछन्
झनै बढी पगाली दिन्छन् हाम्रो हृदयलाई ।

केही माग्दैनौँ हामी बुवासँग
यति मात्र चाहन्छौँ हामी
बुवामा एउटा बुवा नै भेटौँ
आमामा सधैँ एउटी आमा।