भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

प्रेमपर्व / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगङ्गालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ

बारीको डिलैडिल उफ्रिहिँडेँ मृगझैँ
माथिका यी अँध्यारा पर्वतहरू
तलको त्यो रेलको रित्तो बाटो, नुनिलो आभास...
जम्मै बिर्सिएँ मैले !

मान्छेहरूले वर्षौदेखि पुज्न छाडेको त्यो निरीह मन्दिरलाई
मान्छेहरूले वर्षौदेर्खि फर् कीनहेरेको त्यो नियास्रो द्यौरालीलाई
स्वर्गको लालसामा फेरि
ढोगेँ मैले ।

हजुर आउनुहोला भनेर
अनिदा यी सपनाका चरा र छुङछुङती नाचिरहेको हातका चुराहरू
मनभित्र त्यसै–त्यसै पोको पारिराखेको सरमलाग्दा के–,के के–के कुराहरू
यी घरका आशातीत झ्याल–ढोकाहरूलाई
सुम्पिएँ मैले ।
 
लौ हजुर त झन्–झन् अकासिँदै...?

प्रेम भनेको दृष्टिको अनन्तता पो रहेछ
स्वर्ग भनेको हृदयको उचाइ पो रहेछ
ईश्वर भनेको आफ्नो सबभन्दा प्यारो वस्तु पझ रहेछ
वर्षौदेखि बज्न नपाएका यी कुण्ठित घण्टहरूलाई बेस्कन बजाउँदै चिच्याएँ म–

ए हिँड्दाहिँड्दै निख्रिजाने उकाली–ओराली !
ए बस्दाबस्दै थकाइ मेटिजाने चप्लेटी !
कलिला छाँगा, रुपौला रात
र छुनछुनाउँदा चियाका पातहरू !

कसले भन्छ : यी बतासका झोक्काहरू हाम्रा प्रेमचिह्नहरू
होइनन्
कसले भन्छ : यी दहमा खसेका पातहरू हाम्रा प्रेमपत्रहरू होइनन्
साँघुरो भो मलाई झरीका हारीहरू
साँघुरो भो मलाई सम्झनाका घारीहरू

आरुका फूलहरूबाट तपतप झरिरहेका शीतहरू आँखाभरि थापेर
आकाशगङ्गालाई हेर्दा
मेरो राजा !
मैले हजुरलाई देखेँ ।