भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बचेराहरूको एउटा रात / नोरेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज रात
रातभर गुँडमा बचेराहरू
चिरबिर चिरबिर कराइरहे
अरूदिन भन्दा फरक
भयमिश्रित स्वरमा
बचेराहरू रातभर छट्पटाइरहे
 
तर्कनाहरूमा अल्झिएर
छर्लङ्गै काटेको रात
बिहान सबेरै
हतार हतार दौडिए गुँडमा
मेरा अनिदा आँखाहरू
 
गुड, माउ र बचेराहरू
हाँगा हाँगामा
तिनका रमाइला दिनचर्याहरू
जो देख्थे- देखिन मैले
 
माउले बनाएको
एउटा सुरक्षा घेरा
संवादका अनेक चिरबिरहरू
गुड वरिपरिको
एउटा बेग्लै जीवन्तता
आज बिहान देखिन मैले
 
हिजो साँझ
अचानक गर्जेको आकाश
अकस्मातको असिना पानी
एउटा अनिष्ट आशंकाले
म निथ्रुक्क भिजेँ
 
गुँड नफर्केको माउ
बचेराहरूको विरक्त चिरीबिरी
एउटा भयावह सपनामा
भुर्र उड्दै
गुँडमा बसेर
म आफैँ बचेराहरूसँगै
चिर्बिराउन थालेँ ।