भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बर्सात्‌मा बुद्धको मूर्ति सामु / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:39, 10 जनवरी 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

 
बिर्सिएर सबै ब्याकलग र फाइलहरू
छुट्टी मनाउँदै
सडकका बीचैबीच
हिँडेका हूल र जमेका भीडहरू।
 
मान्छे-मान्छे र छाताहरू
छाता-छाता र मान्छेहरू।
 
यी छाताले छेलिएका टाउकाहरूमा
जेबुन्निसा होस् वा क्याथोरिन
क्लियोपेट्रा होस् वा फेनिच्का
सबै आ-आफ्नै कथा भोग्छन् आखिर।
 
नत्र भने
बागमतीमा अलिकति टेम्स मिसाउँदा हुन्थ्यो,
पिखुवामा अलिकति नाइल बगाउँदा हुन्थ्यो।
बुद्धले बन्दुक बोकेनन् भनेर के कुरा गर्नु?
पियानो पनि त बजाएनन्!
न त
कुनै चित्र बनाएकै वृत्तान्त सुनिन्छ कतै।
 
अङ्गुलीमालको प्रशंसा गरेकै हो
आम्रपालीलाई पनि मेरो नमस्कार सुनाइदिए
केही फरकपर्ने छैन।
 
यस क्षण मलाई
मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा
यो बर्सात्‌ले बगाइलगेका
पौरखहरूको चासो छ।
 
यो भल बढेर बाटो छेक्दा
कतै पुग्न ढिलो भयो भन्ने भन्दा
मेरो माटो बग्यो भन्ने पीर भइरहेछ।
 
यो पहाड
बगेरै समथल हुने हो कि भन्ने
डर लागिरहेछ।