भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बाज–चरा / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:27, 24 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रोल्लास सिन्धुलीय |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चरा स्वतन्त्र थियो
चराको अनुहारमा
कुनै माओत्सेतुङहरू थिएनन्
कुनै कार्ल माक्र्स
भ्लादिमिर इल्यिच लेनिन
अथवा
फ्रेडरिक एङ्गेल्सहरू थिएनन्
चरासँग
नीलो सपना चिथोरेर उग्राउने
राता महत्त्वाकाङ्क्षाहरू थिएनन् ।

अकस्मात् चरा पक्राउ प¥यो
सुरक्षाको
कथित पर्खाल नाघेर
चारा खोज्न निस्कनुको अपराधमा
उसका प्वाँखहरू उखेलिए
मांसपिण्ड समान भएपछि
चराको अवशेषलाई
भान्सागृहमा प्रयोग गर्ने आदेश दिइयो ।

बाजद्वारा सताइएको सानो चरा
स्वयम्
बाज घोषित भयो ।

यता बाजै भनेर उसको सद्गति गरियो
उता बाजै भनेर
उसलाई सहिद घोषित गरियो
चरा रातारात अमर भयो
चरा
मृत्युपश्चात् अमर भयो ।

चरा स्वतन्त्र थियो
चरासँग
कुनै कार्ल माक्र्स
भ्लादिमिर इल्यिच लेनिन
अथवा
फ्रेडरिक एङ्गेल्सका छायाँहरू थिएनन्
चरासँग
रातो नदीमा हाम्फालेका
शाकाहारी महत्त्वाकाङ्क्षाहरू थिएनन् ।

चरा स्वतन्त्र थियो
मृत्युपछि पनि कोही
स्वतन्त्र हुँदारहेछन् ।