भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भाँचेर आदिम मौनता / सुदीप पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:07, 28 जुलाई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

च्यातिएर
क्षत-विक्षत भएका
ओजोन-दुलोबाट
क्वारक्वारती चियाइरहेछ— पृथ्वी
ब्रम्हाण्डको 'ब्ल्याक–होल' लाई
वायुमण्डलमा
निर्धक्क उडिरहेका छन्— प्रदुषित कणहरु
बरमुडा-त्रिकोणमा
एकतमास गुन्जिरहेका छन्— रहस्यात्मक लोककथाहरु
तर यसबेला— म
यी सबै भुलेर
तिमीलाई नै सोचिरहेको छु

इतिहासका
काला क्रुर घोडाहरु
इतिहासका पानाहरुबाट जीवन्त हुँदै
निस्किएर अतिक्रमण गर्दैछन्— बगैंचाको स्वाधिनतामा !
                          फूलहरुको स्वतन्त्रतामा !!
र, निर्लज्ज दगुरिरहेछन्— बगैंचामा
कुल्चिंदै— नीला फूलहरु !
उखेल्दै— राता फूलहरु !!
मार्दै— सेता फूलहरु !!!
अद्यावधि
वर्तमानका
पीडित गोरेटाहरुमा
हिन्हिनाउँदै दगुरिरहेछन्
इतिहासका यी बेसोमति घोडाहरु
तरैपनि यसबेला— म
यी सबैबाट आँखा चिम्लिएझैं गरी
तिमीलाई नै चाहिरहेको छु

यतिका
समय बगिसक्दा पनि
अझैं मेरी आमा !
कविताहरुमा बेस्कन रुन सक्छिन्
मेरा आफन्तहरु !!
मेरो मायामा अत्यन्तै दुख्न सक्छन्
मेरा मित्रहरु !!!
मेरा अनुभूतिहरुमा बिस्थापित हुन सक्छन्
मेरा शत्रु भनाउदाहरु !!!
मेरा संवेदनाहरुमा सामन्जस्यता खोज्न सक्छन्
तरैपनि
यसबेला— म
तिमीलाई नै खोजिरहेको छु

फुलिरहेकै छन्— अझैं
सडकहरुमा— रगतका फूलहरु !
गुन्जिरहेकै छन्— अझैं
गाउँ गाउँमा— विष्फोटक आदिम धूनहरु !!
रातका संगीतहरु
लहराइरहेकै छन्— अझैं पनि
तिमीले थाल्या' थियौं
— जुन दुखेका गीतहरु —
अझैं तरंगीत छन्
कहिल्यै शून्य हुन नसकेको मेरो कोठामा
साँच्चै !
न समय पग्लियो हाम्रा काखमा
न त हामी नै पग्लिन सक्यौं समयको काखमा
अहो !
तरैपनि
यसबेला— म
यी सबैलाई थाती राखेर एकातिर
अँध्यारोलाई छले जस्तो गरेर
एक धूनले प्रेम-पत्र लेखिरहेछु तिमीलाई
निरन्तर चाहिरहेछु तिमीलाई !!
यो—
आदिम-मौनता भाँचेर
भन्दैछु—
म माया गरिरहेछु तिमीलाई !
म माया गरिरहेछु तिमीलाई !!

</poem>