भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भूइँचालो / कृष्ण प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


हल्लिनु भूइँचालोको धर्म हो-
ऊ सधैं जड भएर पनि हल्लिन्छ ।
हल्लिन कुनै चेतन हुन जरुरी छैन भूइँचालोलाई
ऊ जीवित नभएरै पनि हल्लिन्छ ।
हल्लिन बाँच्नै पर्ने बाध्यता छैन भूइँचालोलाई
ऊ सासै नभएर पनि हल्लिन्छ ।
भूइँचालो त यमदूतजस्तै छ-
उ कुनै साइत जुराएर आउँदैन ।
दिन बार समय र ठाउँको
उ कुनै निम्तो दिएर आउँदैन ।
थाहै नदिई सुटुक्क
जब आउँछ भूइँचालो
ढाल्नुपर्नेलाई भन्दा नढाल्नेलाई बढी ढाल्छ ।
फाल्नु पर्नेलाई भन्दा जोगाउनेलाई बढी फाल्छ ।
आततायी भएकोले होला भूइँचालोले
सधैं-सधैं मान्छेका सपनाहरु खान्छ ।
सधैं-सधैं मान्छेका सम्भावनाहरु खान्छ ।

Õ Õ Õ Õ

भूइँचालो त कुटिल पनि छ ।
भूइँचालो झन् कपटी पनि छ ।
र भूइँचालो अझ कर्कस पनि छ ।
ऊ आफ्ना सकुनी पासाहरु-
मान्छे निदाएको बेला पनि हान्छ-
र द्रौपदीलाई नङ्ग्याउन खोजेकै भारी समूहमा-
मान्छेहरुलाई नङ्ग्याउन खोज्छ
सत्य लुकाउनुपर्ने केही छैन-
सभ्यतालाई कुरुप बनाएर
श्रृङ्गारहरु खाएको छ भूइँचालोले ।
फूलहरु लथालिङ्ग पारेर-
कोपिलाहरु किचेको छ भूइँचालोले ।
र निर्माणहरु बिथोलेर
भग्नावशेषहरु जितेको छ भूइँचालोले
अन्यथा सोच्नुपर्ने पनि केही छैन-
सिर्जनाहरु कसैले नास्न पाउनु हुन्न भने
सृष्टिको नाममा सन्ताप हुनुपर्छ भूँइचालो ।
सम्पदाहरु कसैले मास्न पाउनु हुन्न भने
श्रृङ्गारको नाममा समाप्ति हुनुपर्छ भूइँचालो ।

Õ Õ Õ Õ

खबरदार !
भूइँचालो अब मान्छेसँग खेल्न अभ्यस्त भैसकेको छ ।
ऊ मृत्यु झैं कुनै पूर्व सूचनाविना नै आउँछ-
आउँदा हल्लिएर आउँछ ।
र जाँदा
भूइँचालोले सधैं-सधैं मान्छे लान्छ ।
भूइँचालोले सधैं-सधैं मान्छे खान्छ ।