भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायाका केही मुक्तक / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

— आज बिहान
  बूढो वृक्षलाई छाडेर
  एउटा मोहक पक्षी
  अनिश्चित दिशातिर उड्यो
— तिम्रो यो शुभयात्रा
  मेरो कविताको अन्तिम वाक्य
  नभइदिए हुन्थ्यो
— तिम्रो कोठाजस्तै
  आज मेरो मन पनि
  चिसो छ,
  रित्तो छ ।
— मेरो
  मन, मगज र मुटुमा बगेको छ
  तिम्रो मायाको त्रिवेणी ।
— तिम्रो अनुपस्थितिमा
  आफू शून्य हुनुपरेको सत्यकथा
  तिमीलाई त के विश्वास
  मलाई पनि विश्वास छैन
— तिमीले भनेकी थियौ
  ‘शारीरिक सम्बन्ध मायाको अन्त हो’
   तर
  मेरो मायाको दिव्य कथा
  त्यही बिन्दुबाट पो सुरु भयो।
— सामान्य माया भए त
  बिछोड हुँदा पनि
  रोइदिँदा भइहाल्थ्यो
  धोइदिँदा गइहाल्थ्यो।
 — कहाँ चुमूँ यी ओठहरूले
  कता बढाऊँ यी हातहरू
  पोलिरहेछन् दिनहरू
  टोकिरहेछन् रातहरू ।
— तिमी पवित्र पात्र
  पीपलको पात मात्र किन ?
  लालीगुराँस पनि अटाउन सक्छ्यौ।
— यो माया पाप हो भने
  सराप देऊ
  तिमी आगो भएर उठ
  म आफ्नो शेष बालिदिन्छु।