भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ललितत्रिपुरसुन्दरी / परिचय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ललितत्रिपुरसुन्दरीको जन्म १८५० सालमा भएको थियो । नेपाली भाषासाहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले महाभारतको शान्तिपर्वान्तर्गको राजधर्म अनुशासनपर्वलाई संस्कृतभाषाबाट १८८१ सालमा नेपालीभाषामा अनुवाद गरिन् ।

ललितत्रिपुरसुन्दरीको राजा रणबहादुर शाहसँग संवत् १८६२ मा राजकीय पारामा विवाह भएको थियो । रणबहादुर शाहकी पाँचौँ पटराज्ञी ललितत्रिपुरसुन्दरीको रजस्वला हुनुपूर्व वैवाहिक जीवन गाँसिएको थियो भने रजस्वला नहुँदैदेखि उनले वैधव्य जीवन बिताउनुपरेको थियो ।

ललितत्रिपुरसुन्दरीले छोरानातिको नायवी भएर २५ वर्षति नेपाल अधिराज्यको शासन गरेकी थिइन् । उनी सुधारवादी र देशभक्त थिइन् । ललितत्रिपुरसुन्दरी कैलाशमा बस्ने साक्षात् पार्वतीजस्तै सुन्दरी थिइन् भन्ने बेहोरा उनैले काठमाडौंको थापाथलीमा थापेको वाग्मतीपुलको मुखमा अवस्थित सिंहकेतुमा लेखिएको छ । उनीद्वारा निर्माण गरिएका त्रिपुरेश्वर महादेवको मन्दिर, धरहरा, सुन्धाराजस्ता संस्कृति र कलाका धरोहरले पनि उनको स्थापत्यकलाका बारे अद्यावधि बखान गरिरहेका छन् ।

ललितत्रिपुरसुन्दरीले संस्कृत र नेपाली भाषामा कविता लेखिन् । राजकाज र साहित्यसृजनामा मात्र होइन उनी जीवनको अन्त्य समयसम्म पनि समाजसेवामा नै समर्पित थिइन् । उनी जनकल्याणमा संलग्न हुँदाहुँदै संवत् १८८८ मा स्वर्गीय भइन् । ललितत्रिपुरसुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा जगदम्बा प्रकाशनले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पनि आबद्ध छ । ललितत्रिपुरसुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा योगी नरहरिनाथ, मदनमणि दीक्षित, सत्यमोहन जोशी, श्यामदास वैष्णव, ईश्वरवल्लभ, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, बालकृष्ण पोखरेल, गणेशबहादुर प्रसाई, कुमारबहादुर जोशी, विष्णुराज आत्रेय, गार्गी शर्मा, देवीप्रसाद सुवेदी, प्रकाश ए. राजआदिले पनि लेखेका छन् ।


स्रोतः - ललितत्रिपुरसुन्दरी- नई प्रकाशन