भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

संयोग होइन मिल्न बगए यो कथा / चन्द्रवीर तुम्बापो

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 04:21, 19 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=चन्द्रवीर तुम्बापो |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका
शिरबन्दी जस्ता घाम–जून
लब्रेडाँडाको ठिक्क निधारमाथि
र फूल्थे आशाका रङ्गी–चङ्गी किरण
मनहरूको कान्ला–कान्ला
बग्थ्यो लगातार
उत्साहको संगीत– सिवाखोला।

आकाश ओर्लेर बास बस्न आइपुग्थ्यो आँगनमा
खेल्थे लुकामारी गाउँका केटाकेटीसँग ताराहरू
पानीको खुट्टाले टेक्दै आइपुग्थ्यो बिहानी
उघारी दिन्थ्यो हार्दिक दैलाहरू, हाँसिरहने झयालहरू।

शीतले नुहाएर
यहींबाट प्रसारण हुन्थ्यो
एउटा सुन्दर तन्नेरी दिन।

जुरुक्क उठेर अनिंदो बतास पनि
नाच्न थाल्थ्यो मकैको पात–पात
पसिनाको बीउ असारले रोपेर
फल्थ्यो मंसीरमा चट्टानमाथि पनि सुुनको बाला।

(प्रिय! पाठक तर यी दृश्यहरू च्यातिएर)
एकदिन, गहिरो अभावको शून्यतामा
पड्कियो चट्याङ
बेपत्ता भए चुलोका हंसहरू
अर्को दिन, पकन्दीहरू बूढीऔंलाको पैतालाछाप
काँचो कागजमा छाडेर
चुलोको हंस खोज्न
लब्रे नाघेर―मलेशियाको जंगल पुगे
सिवा तरेर―बालुवाको सागर पुगे

तर, फर्केको थियो बाह्र वर्षपछि
आफ्नै पैतालामा अयोध्या ठूले।

मलेशियाको कुन जंगलमा
कहाँ अल्मलिए या हराए
बालुवाको सागर छिचोले या पुुरिए
उतैबाट बहँदै आइपुगेको यो हावा
उदास–उदास फेरि उतै फर्केर गएको छ।

आइपुगेका छैनन् फर्केर
विजयको नारा घन्काउँदै
आकाशमा फर्फराएर उमङ्गको झ्ण्डा,
पकन्दीका लस्कर
सुकेर गइरहेछन् आशाका पाती
पर्खाइको देउरालीमा।

अचेल, बगिरहन्छ लगातार
नीलो पीडामा रोदनको संगीत– सिवाखोला
चैतको हुरीले छानो उडाएर
एकलासमा उभिएको उजाड खोल्मा जस्तो
ठिङ्ग उभिरहेको छ– लब्रेडाँडा।

(प्रिय! पाठक यो देशको मानचित्रबाट हराएको हाम्रै गाउँको कथा हो यो)