भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिमलको नाङ्गो हाँगा / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


धेरै वर्षअगाडि
हाम्रो प्रेम साटिएको फलैंचा
त्यसरी नै ठिङ्ग उभिएको थियो
बाटो छेउमा लहरै उभिएको सिमलको रूखमा
चैत —
त्यसरी नै नाङ्गिएको थियो
म थिएँ —
मेरा रहरहरु थिए, केवल तिमी थिएनौ
अब —
एक्लै रोएको मादलको ताल हुन सक्छ
यो फलैचा ......
यो बाटो ......
र आत्मीय लाग्ने हावाको स्पर्श ।

फेरि पनि —
मृत्युदण्ड घोषणा हुनसक्छ
कुनै् प्रेमी नागरिकलाई
र —
सुदूर गाउँमा रोइरहेकी हुनसक्छे
बूढी आमा आफ्नो सन्तानको सम्झनामा

जसरी —
धेरैअघि रोएकी थिएँ म
प्रियतमको नाममा एउटा अप्रितम साँझ ।

साँच्चै,
सत्र वर्ष पछाडि
त्यही फलैंचामा उभिएर
सोचिरहेछु .......
देखिरहेछु ........
यो फलैंचा
यो सिमलको रूख
हामीलाई हेर्दै दौडने ती बच्चाहरु ठूला भैसकेछन्
पहाडभन्दा अग्लो
मात्र म —
प्रेमको नाममा .............
त्यागको नाममा ............
एउटा पृथक् इतिहास बाँचिरहेछु
देखिएका सिमलका नाङ्गा हाँगाहरुजस्तै ।