भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हाटमा उभिएर / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:53, 17 जून 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यसकै दृष्यमा बिलाएर
यसकै आवाजमा पुरिएर
पढिरहेछु यो हाटलाई म
अथवा
सुनिरहेकोछु ।

- यो भालेको कति?
- म त जान्नँ ।
- जेसुकै होस् ।
- पल्लोपट्टि हेर न !
- हिजो बिहान।
- कस्तो मोटाएको?
- सुत्नै सकिएन ।

बर्सादले कुटेको खोलाको झैँ आवाजमा दौडिरहेको यो हाट
हरेक बोलीमा एक कुची चित्र कोर्दछ ।

तर बुझ्दैन आफ्नै अनुहार यो गन्जागोल
चिन्दैन आफ्नै तसवीर यो व्यस्तता
बोलिरहन्छ केवल
आफैँलाई सम्बोधन गरेर -

- अलि पर्तिर सर न ।
- खोलापारि ।
- तीन सय बीस ।
- केही टुङ्गो छैन ।
- पोहोर कै ठाउँमा ।
- भोलिदेखि ।
- कोसँग ?
- कहाँ सुत्यौ ?
- आफ्नै बारीको हो ।

यी शब्दहरू टिपेर कविताको एक झोला बीउ बटुल्न सकिएला ।
यहाँका हरेक वाक्यमाथि टेकेर
जीवन एक खुड्किलो मास्तिर चढिरहेको होला
तर
दु:ख बेच्ने र सपना किन्ने होडमा तल्लिन शब्दहरू,
आफ्नै अनुहारमा फेरिइरहेका रङ्गको पनि वास्ता गर्दैनन् ।

केवल बोलिरहन्छन्
आफैँले कहिल्यै नसोचेका संवादहरू ।

- एकछिन यहीँ बसौँ ।
- क्या मान्छे होला ।
- एकपल्ट हेर्नुपर्छ ।
- कहाँको हो ?
- त्यसरी काँ’ हुन्छ ?
- तातो पानी ?
- कस्ती थिई ?
- सबैतिर हैन ।
- कति बेला जाने ?
- मुढामा ।

आआफ्नो चासोमा निमग्न श्वरहरू
आआफ्ना सङ्गीतको सिर्जना गर्दछन् र
जीवनका एकएक लय लिएर फिर्दछन् ।

- आज केही पनि छैन ।
- त्यति त नपर्नु पर्ने !
- साह्रै गलियो ।
- अस्ति पनि त्यस्तै थियो ।
- चिया नखाऊँ ।
- पल्ला घरमा ।

के यो हाटलाई उबाटै झिकिएको
कुनै कविता बुझ्ने गरी सुनाउन सकिएला ?
उसकै सपनाको आकाशभरि कुँदिएका चित्र बुझाउन सकिएला ?
उसकै क्रन्दन र हाँसो मिसाएर बुनिएको सङ्गीतमा मग्न बनाउन सकिएला ?

एकएक मान्छे झिकेर सुन्दा जीवन बोलिरहेको यो हाट
मान्छे जोडिएर विकराल अस्पस्टता भट्याइरहेको छ ।

कञ्चन जीवनहरूको नदी भीडबाट निलिएको छ
मान्छे मान्छेभित्रै विलाएको छ ।

भीड बनेपछि मान्छे
मान्छे नरहने रहेछ ।

के जनता भनेको पनि हाट नै हो ?
जो एक्लैमा मान्छे र
समूहमा भयानक क्लिष्टता भएर बाँच्दछ ?