भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

हातमा कालोफूल लिएर उभिएकी नायिकालाई । / अविनाश श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:41, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अविनाश श्रेष्ठ |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

।। एक ।।

उन्मादको अर्को नाम नै तिमी थियौ नायिका ।
उपकूल–उपकूल, बगर–बगर नदीमय सम्भावना तिम्रा उन्मत्त आँखामा
लोलाउँथे— रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा ।

तिमी हुनु नै समुद्र हुनु थियो/तिमीभरि उर्लन्थे मेरो पौरुषका
अदम्य लहरहरू/ज्वारभाटाहरू । नीलो आवेगको पानीमा
उत्रने गर्थे/तृप्तिका फेनिल अनित्य कुसुमहरू ।

तिमी हुनु नै उपत्यका हुनु थियो/भन्ज्याङमा लाग्ने न्यानो
पहारिलो घाम हुनु थियो/वा आकाश हुनु थियो अनन्त र गतिमय
अन्तरिक्षको रहस्य ओगटिराख्ने।

तिम्रो कौमार्यले गाएका स्वप्निल गीतहरूलाई/तिम्रै मासुको
मनमुग्ध सङ्गीतमा सजाएर— मेरा कान र आँखाले सँगसँगै
सुन्ने गर्थे/तिम्रो अधीर यौवनको साँघुरो अँध्यारो ओढारमा बसेर ।

तिमीलाई छुनु/दिव्य हुनु थियो।
तिम्रा अगम्य, अनुद्घाटित अवयव र इन्द्रियहरूको/पहिलो
आविष्कारक म नै थिएँ। मेरो शरीरको थाँक्रोमा
सपक्क बेरिँदै गएर नै/तिम्रो देहलहरामा फुल्न थालेका थिए
असङ्ख्य फूल— कामनाका, गोप्य तृष्णाका, ललित वेदनाका…
 जति पटक तिम्रो देहको नदीलाई स्पर्श गर्थें/मभित्रको
आनन्दको एकलास आकाशमा उडिजान्थे सारसका बथानहरू
तिमीसितको प्रत्येक पल्टको सहवासपछि
मेरो मनमा टड्कारिने गथ्र्यो
तीर्थयात्राको पवित्र अनुभूति ।

तिम्रा आँखाको आदिम नीलो दहमा/आफ्नै
प्रतिविम्ब जति पल्ट देख्छु झुक्किएर
म आफैलाई अर्कै चोला फेरिएको नौलो मान्छे
अनुभव गर्थें बारम्बार ।

एकताक तिमी आउँथ्यौ केशहरू बतासमा छिरल्दै,
उडाउँदै/काँध–काँधमा मेघहरू बोकेर/कुनै
किंवदन्तीकी नायिकाझैँ असङ्ख्य आकाश चहार्दै,
तिम्रा प्रत्येक पदचापका ऋचाहरू— सूक्ष्म व्याख्याका निम्ति
छाडिने गर्थे मेरो मस्तिष्कमा/तिमी गएपछि ।

तिम्रो मादकताको ग्रन्थका अध्यायहरू/अध्यायपिच्छेका
पानाहरू समयसँगै पल्टिँदै गए/त्यसपछि धमिलिँदै गयो
तिम्रो लावण्य/भुइँकुहिरोभित्रको आकृतिझैँ— मेरो स्मृतिमा ।

।। दुई।।

कैयौँ वर्षपछि/आज फेरि तिमीलाई हठात् देखेथेँ
त्यही नदीको बगरमा/तिमी उभिएकी थियौ उसरी नै
विह्रवल मुद्रामा/तिम्रो हातमा थियो एउटा कालो फूल ।
कालोफूल : समयले तिम्रो हातमा
थमाएर गएको/एउटा गम्भीर दायित्व,
प्रतिवादको, बहिष्कारको, विरोधको
र विद्रोहको।

हो, त्यो फूलको रङ्ग ठीक रातको झैँ कालो थियो,
अन्धकारको झैँ कालो थियो/सके तिमीभित्रको
गहन अतृप्ति र अभावको झैँ कालो थियो।

संसारमा व्याप्त कुनै पनि कोलाहल, अभाव वा
असन्तोषको पक्षमा/विरोधका प्लेकार्ड र ब्यानरहरू
तिम्रो हातले कहिल्यै उचालेको थाहा छैन ।
तर, कुन्नि किन हो आज/तिमीले हातमा लिएको
कालो फूल देखेर मलाई लाग्दै छ—
तिम्रा हातहरू सक्षम हुँदै जानेछन् अनि एक दिन
प्रत्येक शोषणलाई चुनौती दिँदै
तिनै हातले उचाल्न सक्नेछन् आफैमा
ठूला–ठूला सङ्घर्षहरू/आन्दोलन र विप्लवहरू ।

प्रत्येक शोषणको प्रतिवादमा/कालो फूल
हातमा लिन सक्नुपर्छ ए नायिका ।
तिम्रै आस्था र प्रेरणाको शक्तिले सञ्चालित हुन—
सक्नेछन् तब मात्र— ठूला–ठूला क्रान्तिका मिसिलहरू,
विरोधप्रदर्शनका शोभायात्राहरू ।
तिम्रै सहनशील गर्भबाट जन्मनेछ एक दिन
दलित, शोषित, त्रस्त र आतङ्कित मान्छेहरूको नेता ।

हातमा कालो फूल लिएर/निस्फिक्री
उभिएकी ए नायिका ।/तिमी
असफल प्रेमिका थियौ
तर तिमी सफल आमा बन्न सक्नुपर्छ।