भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घुम्नेमेचमाथि अन्धो मान्छे / भूपी शेरचन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 04:18, 27 नवम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर,
घाउहरु कोट्ट्याएर
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँसडक– असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ
किसिम–किसिमका पोशाकमा
ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु्
फुलपारेको कुखुराझैँ कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ–ठाउँमा अन्भकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशकदेखि तर्सेर
अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
र नपाएर विस्मृतिको लेथे नदी
रक्सीको गिलाँसमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनि र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलीबाट एउटा सूर्य उदाएँछ,
सधैँ रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ प बसेको पृथ्वी– पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदैखि,
दृश्यहरुदेखि,
रमाइलो देखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै।

(२०१८–रुपरेखा)
...................................................................

यस कविताको हिन्दी अनुवाद-
घूमनेवाली कुर्सी पे एक अंधा / भूपी शेरचन / सुमन पोखरेल

इस कविता का हिंदी अनुवाद-
घूमनेवाली कुर्सी पे एक अंधा / भूपी शेरचन / सुमन पोखरेल